धरान: रामधुनी नगरपालिकाको क्वारेन्टाइनबाट एक जना कोरोना संक्रमित रिपोर्ट आएका व्यक्ति दिउँसै भागेका छन् ।

संक्रमित भागेपछि नगरपालिका क्षेत्रलाई साउन २४ गतेसम्मलाई लकडाउन गरिएको छ । नगर प्रमुख जयप्रकाश चौधरीका ती व्यक्ति हिजो(शनिबार) करिब साढे १० बजेतिर खाना खाने समयमा क्वारेन्टिनबाट भागेका हुन् । चौबिस घण्टा बितिसक्दा पनि फेला पर्न सकेका छैनन् । ‘शंकाले हो कि के भएर हो, खाना खाने बेलामा भागेछ, हिजो साढे १०, ११ बजेतिर भागेको अझै भेटिएको छैन,’मेयर चौधरीले भने ।

उनका अनुसार ४० बर्षका ती संक्रमित व्यक्ति रामधुनी १ मा घडेरी छ भने भारतको वीरपुरमा पनि घर छ । खासमा ती व्यक्ति भारतीय हुन् । ‘उ खासमा भारतीय हो, तर यहाँ पनि घडेरी रहेछ,’मेयर चौधरीले भने,‘चारैतिर घुमेर सार्ला कि भनेर लकडाउन गरिएको छ ।’

ती फरार संक्रमित जातो बनाएर बेच्ने पेशा गर्छन् । यसअघि पनि उनकै परिवारका २ जना पोजेटिभ देखिएको थियो । त्यसपछि पछिल्लो समय पुनः २ जना उनकै परिवारका संक्रमित भए । क्वारेन्टिनमा एकै ठाउँमा बसेका हुनाले उनलाई थप क्वारेन्टिनमा राखेर पिसिआर गरिएको थियो । उनको रिपोर्ट औपचारिकरुपमा सार्वजनिक नहुदै क्वारेन्टिनबाट भागे । ‘एम्बुलेन्स बोलाए पछि मात्र रिपोर्ट पोजेटिभ आयो भनेर भन्ने गरिएको छ, यो मान्छेले शंका गरेर भागेको होला,’मेयर चौधरीले भने,‘फोनमा सम्पर्क गर्दा कैले कता छुँ, कैले कता भन्छ । एक पटक झुक्याएर ढल्केवर पनि भन्यो । भारत तिरै गयो कि भन्ने पनि लागेको छ ।’

नगरपालिकाले संक्रमितको छिमेकीहरुलाई पनि पिसिआर परीक्षण गर्ने तयारी गरेको छ भने झुम्काका व्यापारीहरुलाई पनि गरिने जनाएको छ । सोमबार करिब ४० देखि ५० जनासम्मको स्वाब संकलन गरिने मेयर चौधरीले जानकारी दिए । ‘लकडाउन २४ गतेसम्म छ, अतिआवश्यक कामबाहेक ननिस्कन आग्रह गरिएको छ,’उनले भने ।