धरान: प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको बिहिबार कोरोना परीक्षणको लागि स्वाबको नमुना संकलन गरिएको छ ।

सरकारको कामको सिलसिलामा काठमाण्डौं गएको बेला बैठकका सहभागी तथा प्रदेश नं २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश १ का मन्त्री कार्कीको पनि स्वाब लिइएको हो । साउन १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेष उपस्थितिमा प्रदेशका कानुन मन्त्रीहरु, गृह सचिव, प्रहरी महानिरीक्षक लगायतको बैठक भएको थिडयो । उक्त बैठकका सहभागी एवं प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री यादवलाई हाल संक्रमण पुष्टि भएको छ भने उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा समेत संक्रमण देखिएको छ ।

प्रदेश १ का आन्तरिक मामिला मन्त्री कार्कीको सचिवालयले एक सन्देश जारी गर्दै मन्त्री कार्कीमा अहिलेसम्म कुनै पनि संक्रमणको लक्षण पनि नदेखिएको जनाएको छ । प्रमुख स्वकीय सचिव कमल पौडेलद्धारा जारी सन्देशमा साउन १६ गते यता भेटघाटमा रहेका सम्पुर्णलाई सतर्क रहन पनि आग्रह गरिएको छ ।

‘अहिलेसम्म माननीय ज्यूको स्वास्थ्यमा त्यस्तो कुनै पनि संक्रमणको लक्षण नदेखिएको जानकारी गराउदछुँ,’सन्देशमा भनिएको छ,‘तथापी कोभिड १९ को भाईरसको संक्रमणका सम्बन्धमा यस्तै हुन्छ भन्ने अवस्था नरहेको हुँदा माननीय मन्त्रीज्यु सँग २०७७ साल साउन १६ गते यता भेटघाटमा रहनु भएका सम्पुर्णलाई पनि सतर्क रहन र केही लक्षण देखिए स्वास्थ्य सस्थाको सम्पर्कमा आउन हुन पनि अनुरोध गर्दछु ।’