धरान: मृत्यु त्यसै पनि दुःखदायी हुन्छ । अझ अहिले विश्वमा महामारी फैलिएको कोभिड १९ को संक्रमणबाट मृत्यु हुनु घर, परिवारको लागि असाध्यै पीडादायी हुन्छ ।

नेपाली समाजमा मृतकको अन्तिम पटक भएपनि अनुहार हेर्ने चलन छ । तर, कोरोना संक्रमणबाट मृत्यु भएपछि शव उनको परिवारले पाउदैन । मृतकको शवबाट संक्रमण फैलिने भएकोले न शव परिवारले जिम्मा पाउछ, न अत्येष्टीमा सहभागी नै हुन पाउछ । शवलाई नेपाली सेनाको टोलीले विशेष तरिकाले व्यवस्थापन गर्ने गरेको छ ।

शवलाई सेनाले त्यसै व्यवस्थापन गर्दैन । सम्मानपुर्वक सलामी पनि दिएर अन्त्येष्टी गर्छ । बिहिबार राती वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सिरहाको गोलबजार नगरपालिका १२ का २५ बर्षीय कोरोना संक्रमित युवाको मृत्यु भएको थियो । उनको शवलाई शुक्रबार नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको थियो । शवलाई गोलबजार २ स्थित गागन नदीमा किनार अन्त्येष्टी गर्नुअघि सेनाको टोलीले सलामीसमेत दियो ।

ती युवा विगत २ बर्षदेखि डाइलाइसिस गराइरहेका थिए । उनलाई बिहिबार प्रादेशिक अस्पताल जनकपुरले डाइलाइसिस गराउन धरान पठाएको थियो । उनको २१ गते पिसिआर पोजेटिभ आएको थियो । संक्रमितहरुलाई डाइलाइसिस सेवा धरानस्थित वीपी प्रतिष्ठानमा मात्र भएकोले उनलाई पनि बिहिबार रिफर गरिएको थियो ।