विराटनगर: विराटनगर १४ मा रहेको विराट साईन्स क्याम्पसको भवन प्रदेश १ सरकारलाई हस्तान्तरण गरिने भएको छ ।

करिव ७ वर्षदेखि प्रयोगविहिन बन्दै आएको भवन व्यवस्थापन समितिले प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेको हो । व्यवस्थापन समितिको क्याम्पसको भवन, क्याम्पस भित्र रहेका पुस्तक लगायतका सामाग्री हस्तान्तरण गर्ने प्रस्ताव प्रदेश सरकार अन्र्तगतको मनमोहन प्राविधिक विश्वविद्यालयले स्वीकार गरेको छ । भवन, क्याम्पसको सम्पत्ति एक औपचारिक कार्यक्रमकावीच चाँडै हस्तान्तरण गरिने व्यवस्थापन पक्षले जनाएको छ । क्याम्पस सञ्चालक समिति र दाताले भवन अगाडी रहेको प्रतिमाको संरक्षण, कामदारको निरन्तरता र क्याम्पस भवनमा राखिएको संस्थापकहरुको नामावली रहेको शिलालेखको संरक्षण गर्नुपर्ने सर्त राखेको छ ।

प्रदेश सरकार मातहत क्याम्पसको भवन आउने भएपछि मंगलबार सामाजिक विकास मन्त्री जीवन घिमिरेले क्याम्पसको अवलोकन गरेका थिए । प्रदेश सरकारले क्याम्पस भवनमा पशु विज्ञान कार्यक्रम सञ्चालन गर्ने गरी विज्ञसँग छलफल शुरु भएको मन्त्री घिमिरेले बताए । मनमोहन प्राविधिक विश्वविद्यालय अहिले पाठ्यक्रम तयारीमा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्न १ देखि डेढ वर्ष लाग्नेछ । तत्कालका लागि प्रदेश सरकारले सीप प्रशिक्षण केन्द्र शुरु गर्ने मन्त्री घिमिरेको भनाई छ । सामाजिक विकास मन्त्रालय र मनमोहन प्राविधिक विश्वविद्यालय अन्र्तगतका तालिमहरु विराट क्याम्पसको भवनबाट शुरु गर्ने मन्त्री घिमिरेले बताए ।

तालिम केन्द्र निर्माणका लागि सामाजिक विकास मन्त्रालय र सुनसरीको करुणा फाउण्डेसनवीच सहकार्य हुनेछ । करुणाले भवनको मर्मत सम्हारको काम गर्ने भएको छ । भवन मर्मतका लागि ५७ लाख ९२ हजारको लागत इस्टिमेट निकालिएको फाउण्डेसनका योगेन्द्र गिरीले बताए । वि.स.२०४८ सालमा स्थापना भएको क्याम्पस ७ बर्षदेखि बन्द भएको सोही क्षेत्रका प्रदेशसभा सदस्य जयराम यादवले बताए । उनले तत्काल सञ्चालन गर्नुपर्ने स्थानीयको माग रहेको प्रदेशसभा सदस्य यादवले बताए । प्रदेश सरकारले विश्वविद्यालयको कार्यक्रम शुरु गर्ने निर्णय गर्नु गौरवको कुरा भएको उनको धारणा थियो ।