धरान: सहप्राध्यापक डा.दिलकुमार लिम्बु धरान १४ विजयपुर, हात्तिसारस्थित केन्द्रीय प्रविधि क्याम्पसको प्रमुखमा नियुक्त भएका छन् ।
धरान १९ निवासी डा.लिम्बुलाई त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद बैठकले हिजो बिहिबार नियुक्ती गरेको हो । क्याम्पस प्रमुखको कार्यकाल ४ बर्षको हुनेछ । डा. लिम्बु वनस्पति शास्त्रका सहप्राध्यापक हुन् । उनी विगत ६ महिनादेखि निमित्त क्याम्पस प्रमुख रहेका थिए । साथै, विगत ६ बर्षसम्म उनले सहायक क्याम्पस प्रमुखको जिम्मेवारी पनि सम्हालेका थिए ।
डा.लिम्बु हिमालयन रेञ्जलेण्ड कार्बन सिक्विस्ट्रेसनका विज्ञ पनि हुन् । उनले हिमालयन रेञ्जमा कार्बनको मात्रा कति छ भन्ने बिषयमा विद्यावारिधी गरेका हुन् । उनलाई नजिकबाट चिन्नेहरु लगनशिल, कर्मठ र निरन्तर अनुसन्धान, प्राध्यापनमा लागिरहने व्यक्ति रहेको बताउँछन् । ‘उहाँ २३ बर्षदेखि सक्रियरुपमा प्राध्यापन तथा अनुसन्धानमा लागिरहनुभएको लगनशिल, कर्मठ जुझारु सहप्रध्यापक हुनुहुन्छ,’क्याम्पसका माइक्रोबायोलोजी विभाग प्रमुख धिरेन लिम्बुले भने । नवनियुक्त क्याम्पस प्रमुख डा.लिम्बुको २५ भन्दा बढी राष्ट्रिय, अन्र्तराष्ट्रिय जर्नलहरुमा अनुसन्धानमुलक लेखहरु प्रकाशन भइसकेको छ भने ५ विभिन्न पुस्तक तथा च्याप्टर पनि प्रकाशन भइसकेको छ ।