धरान: लकडाउनको समय थप गर्ने र मोडालिटीबारे छलफल गर्न धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज बस्दैछ ।
लकडाउनको समय भोली मध्यराती १२ बजे सकिने भएकोले आज कार्यपालिका बैठक बसेर थप निर्णय गर्न लागेको हो । यो बैठकले लकडाउनको समय थप गर्ने साथै मोडालिटी कस्तो अपनाउने भन्नेबारेमा महत्वपुर्ण निर्णय गर्ने वडा न. १७ का अध्यक्ष मनोज भटट्राईले जानकारी दिए । ‘लकडाउनको समय थप गर्नेबारे निर्णय गर्नुपर्नेछ । दुध र सब्जी कसैले नियन्त्रण गर्नुपर्छ भन्छन्, कोही खुकुलो गर्नुपर्छ भन्ने पनि छ । यही बिषयमा पनि छलफल हुन्छ,’उनले भने ।
लकडाउनको मोडालिटीबारे हिजो (सोमबार) प्रहरी, प्रशासन, उद्योग वाणिज्य संघ, तरकारी व्यापारीलगायतसँग उपमहानगरपालिकामा छलफल भएको थियो । उक्त छलफलमा दुध र तरकारीलाई व्यवस्थित गर्दै एक सातालाई लकडाउन थप गर्ने सुझाव सरोकारवालाहरुले दिएका थिए । ‘बाहिरबाट आउने दुधलाई समय तोकेर सम्बन्धित ठाउँमा पुर्याउन दिने । तोकिएको समयमा पसलबाट पनि बिक्री गरिसक्ने भन्ने सुझाव हिजोको छलफलमा आएको थियो,’वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले भने,‘तरकारी पनि भानुचोकको सब्जी मण्डी र पालिका बजार खोल्न नपाउने तर व्यापारीहरुले पायक पर्ने ठाउँमा तोकिएको समयभित्र बेच्न दिनुपर्छ भन्ने सुझाव छ ।’
उनका अनुसार कृषि बजारमा बाहिरबाट आउने तरकारी निश्चित समयभित्र आउन दिने र तोकिएको मापदण्ड पालना गर्दै व्यवसायीलाई बेच्न दिने सुझाव पनि सरोकारवालाहरुले दिएका छन् । यही सुझावमा आधारित भएर लकडाउन थप गर्नेबारे आजको कार्यपालिका बैठकमा छलफल हुने र निर्णय हुने खतिवडाले बताए । ‘यही बिषयमा कार्यपालिकाले छलफल गरेर निर्णय गर्छ वा केही परिमार्जन हुनपनि सक्छ,’उनले भने ।