मोरङः मोरङ जिल्लामा विकास निर्माणका काम गर्दा हुने लाहपरबाहीको अर्को एउटा गज्जबको नमुना देखिएको छ ।

लेटाङ नगरपालिकालाई धनकुटाको ६ नम्वर बुधवारेसँग जोड्ने सडक कालोपत्रे भएको १ महिना नपुग्दै भत्किएपछि सडक निर्माणमा हेलचक्रयाँई गरिएको पुष्टी भएको हो । पूर्वपश्चिम राजमार्गसँग धनकुटालाई जोड्ने छोटो बाटोको रुपमा रहेको लेटाङ-बुधवारे सडकखण्ड अन्तरगतको ७ सय मिटर सडक कालोपत्रे गरेको १ महिनामै उक्किएपछि स्थानीयले विरोध गरेका हुन् । स्थानीय सुनिता तिम्सिनाका अनुसार हतारहतार निर्माण गरेको ठेकेदारले गुणस्तर ध्यान नदिएको हो ।

६ नम्वर बुधवारेसँग सिधा समपर्क रहेको लेटाङ नगरपालिका–२ बुधवारे उत्तर खण्डको सडक कालोपत्रे गरिएपनि अहिले विभिन्न ठाउँमा कालोपत्रे भत्किएको स्थानीय मदन खड्काले बताए । कालोपत्रेका लागी गत आर्थिक वर्षमा प्रदेश न १ मुख्य मन्त्री कृषि सडक आयोजना अन्तरगतको वजेट मार्फत ७० लाख रुपैयाँ खर्चिएको थियो । जसमा २० प्रतिशत नगरपालिकाले लगानी गर्नु पर्ने भनितापनि ५६ लाखमा इटहरी १ सुनसरीको श्रीकृष्ण निर्माण सेवाले टेण्डर लिएपछि नगरपालिकाको बीना लगानी काम अगाडी बढेको थियो ।

श्रीकृष्ण निर्माण सेवा ईटहरी १ सुनसरीले जिम्मेवारी लिई सडक कालोपत्रे गरिएको सडक अहिले नै भत्किएपछि स्थानीयले कालोपत्रेको नाम पारेर सडकमा कालोपोत्ने मात्र काम गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । ‘जनताले तिरेको कर र राज्यको ढुकुटीमा खेलवाड गर्ने संस्था र व्यक्तिलाईलाई कानुनी कारबाही हुनुपर्छ,’ स्थानीय इश्वरी कोइरालाले भनिन्, ‘यो हामीले खाई नखाई तिरेको करको दुरुपयोग हो यस्ता व्यक्ति र संस्थालाई तत्काल कारबाही हुनुपर्छ ।’

७ मिटर चौडाइ र ३० एमएम मोटाइ भएको कालोपत्रे सडक निर्माण हुनुपर्ने भएतापनि सो नभएको पाइएको छ । साथै ठेक्का लागेको मिति र सम्पन्न मिति आयोजना वोर्डमा उल्लेख हुनुपर्ने भएता पनि सो पनि उल्लेख गरिएको देखिदैन । यता १ महिना वित्न नपाउदै भत्कीएको सडक अनुगमन गर्न गएकी लेटाङ नगरापालिकाकी उप–प्रमुख कृष्ण कुमारी निरौलाले कालोपत्रे गरिएको भागमा उक्किएकाले तत्काल सम्वधित पक्षलाई पुनःनिर्माण गर्न आग्रह गरेकी छन् । ‘निर्माण पक्षलाई सडकको अवस्थामा बारेमा जानकारी गराएका छौँ,’ उनले भनिन्,‘यो गम्भिर त्रुटी भएको देखिन्छ। यसले कुुनैहालतमा बताउनुुपर्छ ।’

सडक कालोपत्रेको जिम्मा लिएको ठेकेदार श्री कृष्ण निर्माण सेवा इटहरी १ सुनसरीसँग पार्टनसिपमा काम थालेका माधव थापाले भत्केको कालोपत्रे तुरुन्तै मर्मत गर्ने प्रतिक्रिया दिएका छन् । सडक बिग्रनुमा स्थानीयको पनि गल्ति रहेको उनको भनाई छ । स्थानीयले पिच गर्न लागेको बाटोमा ट्याक्टर कुदाएर प्राइमर नै सखाप वनाएपछि पुनः लगाएको प्राइमरले काम नगरेको हुन सक्ने थापाको जिकिर छ ।

७ सय मिटर लम्वाई रहेको सो सडक अक्सपार्ड प्रविधिबाट निर्माण गर्ने समझौता भएपनि सो मापदण्ड अनुसार काम नभएको स्थानीयहरुले बताएका छन् । अक्सपार्ड प्रविधिको मापदण्ड अनुसार निर्माण भएको सडक नउप्किने सोही क्षेत्रका प्राविधिकहरुको तर्क रहेको छ । परम्परागत रुपमा निर्माण हुँदै आएको प्रिमिक्स प्रविधिमा निर्माण भएको सडक मात्र गुणस्तरहिन भएको खण्डमा उक्किने जानकारहरुले वताएका छन् ।