विराटनगरः कोरोना हट स्पट बनेको विराटनगरमा परीक्षणको दायरा बढाउने गरि थप एक थान पिसिआर मेसिनको व्यवस्थापन भएको छ ।

२८ लाख मुल्य बराबरको उक्त मेसिन आज विराटनगर महानगर प्रांगढमा सामाजिक विकासमन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उद्योगी व्यवसायी र नागरिक समाजको उपस्थितिमा हस्तान्तरण गरिएको छ । पहिलो चरण अन्तर्गत पिसिआर मेसिन उपलब्ध गराइए पनि अब फेरी प्रदेश सरकार र विपी प्रतिष्ठानलाई थप सामाग्री उपलब्ध गराउने योजना रहेको उद्योगी भीम घिमिरेले जानकारी दिए ।

आज उपलब्ध भएको मेसिनले दैनिक १ सय ५० स्वावको नमुनाको नतिजा दिने छ । यसको व्यवस्थापनको जिम्मा सरकारले लिनेछ । जसका लागि कोशी अस्पतातको ल्यावमा यसलाई सेटअप गर्नेगरी अस्पताललाई नै आज हस्तान्तरण गरिएको हो । मेसिन खरिदका लागि मेयर पराजुलीले ५ लाख, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिध र स्वयम मन्त्री जीवन घिमिरेले समेत आर्थिक सहयोग गरेका छन् ।

मेसिन खरिदका लागि पराजुलीले नागरिक समाज र उद्योगीसँग आग्रह गरेका थिए । उनले आफ्नो सेवा सुविधामार्फत ५ लाख रूपैयाँ एक सामुहिक कोषमा राखेर आह्वान गरेको पिसिआर खरीद अभियानमा उद्योगीले धमाधम लाखौँ रकम जिम्मा गरिदिएका थिए । यसलाई सामुहिक फ्रन्ट बनाई आवश्यक सम्पुर्ण उपकरण खरिद गर्ने नागरिक समाजको योजना छ ।

नागरिक समाजले रकमको जोहो गर्ने र निजी क्षेत्रलाई खरीदका लागि आवश्यक प्रक्रिया अघि बढाउने जिम्मेवारी दिइएको छ । आपपतकालमा सरकारी तवरबाट खरिद प्रक्रियामा जाँदा ढिला हुने हुँदा यसरी चन्दा उठाइएको रकमबाट निजी क्षेत्रलाई खरिद गर्न भनिएको उद्योगी घिमिरेले जानकारी दिए । उनका अनुसार विराटनगरका मनकारीबाट झण्डै ५० लाख रकम उठिसकेको र अझै त्यति नै रकम उठ्न बाँकी रहेको बताए ।

विराटनगरका मेयर भिम पराजुलीले माथिल्ला सरकारबाट अपेक्षीत सहयोग नगरेको बताउँदै आएका छन् । उनले आफ्नो नगरका नागरिकको पिसिआर परिक्षणको रिपोर्ट ५ दिनसम्मा पनि नआएपनि नागरिक समाज र निजि क्षेत्रसँग समन्वय गरेर मेसिन खरिदको व्यवस्थापन गरेको जानकारी दिए । सामाजिक विकास मन्त्री जीवन घिमिरेले कसैको मुख नताकी आफुले सक्दो स्थानबाट मानव स्वास्थ्य जोगाउने काम गर्नुपर्ने दायित्व रहेको बताए ।