धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा एक कोरोना संक्रमित महिलाले बच्चा जन्म दिएकी छिन् ।

आज साँझ करिब ६ बजे विराटनगर २, मोरङकी २० बर्षीया महिलाले छोरी जन्माएकी हुन् । प्रतिष्ठानमा कोरोना संक्रमित महिला डेलिभरी भएको यो पहिलो पटक हो । आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य रहेको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । ‘बच्चाको तौल २.८ केजी रहेको छ, दुवैको स्वास्थ्य एकदमै राम्रो छ,’प्रवक्ता डा.सापकोटाले भने ।

गर्भवती महिलाले नर्मल डेलिभरीमार्फत नै बच्चा जन्म दिएकी हुन् । डेलिभरी गराउदा अप्रेशन पनि गर्नुपर्ने अवस्था आउने भएकोले तयारी पनि गरिएको डा.सापकोटाले बताए । ‘अप्रेशन गर्नुपर्ने पनि हुनसक्ने भएकोले तयारी पनि गरिएको थियो, तर नर्भल डेलिभरी नै भयो,’उनले भने । प्रसुती विभागका डा.सुर्यप्रसाद रिमालको निगरानीमा डा.मुकेश, डा.हिमाल र नर्स सिरिनद्वारा डेलिभरी गराइएको प्रतिष्ठानले जनाएको छ ।

गर्भवती महिलाको भदौ ३ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । उनी भदौ ७ गते प्रतिष्ठानमा भर्ना भएको थियो । डेलिभरी गराउदा अप्रेशन पनि गर्ने अवस्था आउने भएकोले आइतबार (हिजो) ओ.टि.युजर्स कमिटिका सदस्य सचिव तथा निमित्त अस्पताल निर्देशक डा.विकास साहको अध्यक्षतामा बसेको बैठकले रुटिन ओ.टी.मध्ये एउटालाई कोभिडमा सेटअप गर्ने निर्णय गरेको थियो । आज डेलिभरी गराउने क्रममा अप्रेशन गर्नुपर्ने भए गााइनो वा रुटिन मध्ये कुनै एक ठाउँमा लगेर अप्रेशन गराउने तयारी पनि गरिएको थियो ।