धरान: सुनसरी उद्योग वाणिज्य संघले सुरक्षा निकाय र धरान उपमहानगरपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।

संघले शनिबार आफ्नो ५७ औं वार्षिकोत्सवको अवसर पारेर धरान उपमहानगरपालिका र सुरक्षा निकायहरुलाई फेस शिल्ड, मास्क, सेनिटाइजर र गाडीमा सेनिटाइज गर्ने उपकरण प्रदान गरेको हो । संघको हलमा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय धरान, सशस्त्र प्रहरी बल बेस क्याम्प फुस्रे र जिलल ट्राफिक प्रहरी कार्यालय धरान र उपमहानगरपालिकालाई स्वस्थ्य सामग्री वितरण गरिएको थियो ।

संघका अध्यक्ष गिरीधारी सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रम धरानकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उपप्रमुख भण्डारीले स्थानीय सरकार र व्यापारी बिचको सम्बन्धको सेतुकोरुपमा उद्योग वाणिज्य संघको भुमिका रहेको धारणा व्यक्त गरिन् । साथै उनले धरानलाई पर्यटकीय नगरी बनाउन व्यवसायीहरुले थप लगानी गर्न आवश्यक भएको पनि बताइन् । “पर्यटकीय नगरीको रुपमा रहेको धरानमा मन्दिर मात्र होईन, धरानलाई अझ उत्कृष्ट गन्तव्य बनाउनका लागि थप लगानी गर्नुपर्ने हुन्छ”उनले भनिन् ।

udhog

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष सन्तोष काफ्ले, इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्र बहादुर कार्कीले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले धन्यवाद मन्तव्य दिएका थिए । कार्यक्रम संघका महासचिव राजेश अग्रवालले सञ्चालन गरेका थिए । सोही कार्यक्रममा २०७६ फागुन १५ देखि चैत्र ७ गतेसम्म संघले आयोजना गरेको औद्योगिक व्यापार मेला–२०७६ को स्कुटी उपहार नतिजासमेत घोषणा गरिएको थियो । मेला अवधिमा प्रवेश टिकटको अर्धकट्टी मध्येबाट गोलाप्रथाद्वारा टिकट नं. १८६५० लाई स्कुटी विजेता घोषणा गरिएको कार्यसमिति सदस्य विष्णु बरालले जानकारी दिए । तस्वीर: विष्णु बराल

sunsari-udyog