धरान: सखुवाको रुख काटिएको घटनाबारे स्थलगत अनुसन्धान गर्न वन कार्यालयको टोली धरान वडा नं २० स्थित भालढुंगा सामुदायिक वन क्षेत्रतर्फ गएको छ ।

सब डिभिजन वन कार्यालय विष्णुपादुकाका प्रमुख राजेन्द्रप्रसाद यादव, रेञ्जर इश्वरी बास्तोला, सशस्त्र वन रक्षकसहितको टोली स्थलगत अध्ययनको लागि धरानबाट त्यसतर्फ गएको हो । रेञ्जर बास्तोलाका अनुसार रुख काटिएको स्थानमा पुग्ने, स्थानीयबासीसँग यथार्थ कुरा बुझ्नेलागयतको कार्य हुनेछ । ‘वस्तुस्थिति के हो, त्यो बुझ्छौं । फिल्डमा हेछौं, र स्थानीयसँग पनि कुरा गछौं,’उनले भने ।

शनिबार भालढुंगा वनमा एउटा सखुवाको रुख ढालिएको थियो । मेशिनले रुख ढालेर १२ वटा टुना बनाएको अवस्थामा आइतबार उपभोक्ताहरु पुग्दा फेला परेको थियो । उक्त रुख धरानका मेयर तिलक राईको निर्देशनमा काटिएको आरोप लागेको छ । तर, मेयर राईले भने रुख काटिएकोबारेमा आफुलाई थाह नभएको बताएका छन् ।

वन समुहका अध्यक्ष बुद्धिमान तामाङले भने मेयर राईले नै रुख काट्न लगाएको दाबी गरेका छन् । आमाको नामबाट बिहिबार काठ माग गर्दै निवेदन दिएको र शुक्रबार छलफल भएर आइतबार ढलापडा रुख खोजेर दिने सहमति भएपनि मेयर शनिबार बिहानै आएर कोषाध्यक्षसहित जंगल गएर सखुवाको रुख ढालेको अध्यक्ष तामाङले दाबी गरेका छन् ।