धरान: धरानमा बोइलर जिउँदो कुखुरा र मासुको मुल्य निर्धारण गरिएको छ ।
आज सभागृहमा उपमहानगरपालि, कृषक, डिलर, मासु व्यवसायीसहितको बैठकले मासुको मुल्य निर्धारण गरेको हो । बैठकले जिउदो कुखुराको मुल्य प्रतिकिलो २२० रुपैया निर्धारण गरेको छ भने मासुको खुद्रा मुल्या ३२० रुपैया कायम गरेको अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । ‘जिउदो कुखुरा व्यवसायीलाई २२० मा बिक्री गर्ने मुल्य निर्धारण भएको छ, यस्तै खुद्राले उपभोक्तालाई बेच्ने मासुको मुल्य प्रतिकिलो ३२० कायम भएको छ,’अधिकृत सापकोटाले भने ।
धरानका मेयर तिलक राईको बिशेष उपस्थितिमा अनुगमन संयोजक एवं उपमेयर मञ्जु भण्डारी सुवेदीको अध्यक्षता बैठक भएको थियो । बैठकमा कुखुरा उत्पादक कृषक, डिलर र मासु व्यवसायी, नगर प्रहरी, पशु शाखासहित सहभागी थिए । धरानमा यसअघि कुखुराको मासुको मुल्यमा एकरुपता थिएन । डिलरबाट खुद्रा व्यवसायीहरुले जिउदो कुखुरा ३५० रुपैया प्रतिकिलोसम्म खरीद गरिरहेका थिए भने व्यवसायीहरुले उपभोक्ताहरुलाई ३८० रुपैयासम्म प्रतिकिलोमा मासु बिक्री गरिरहेका थिए । यो निर्णय केही समयको लागि भएको हो ।
जिउदो कुखुरा र मासुको मुल्य निर्धारण गर्नको लागि ९ सदस्यीय समिति पनि गठन गरिएको छ । समितिको संयोजकमा पशु शाखा अधिकृत महेन्द्र पैकारा छन् भने राजश्व अधिकृत खगेन्द्र खतिवडा, अनुगमन अधिकृत वेदप्रसाद सापकोटा पनि छन् । यस्तै, कृषककोतर्फबाट २ जना, डिलरकोतर्फबाट २ जना र मासु व्यवसायीकोतर्फबाट २ जना सदस्य राखिएको छ ।
यस्तै, धरानमा बाहिरबाट कुखुरा ल्याउदा गाडीका चालक वा गाडीका कर्मचारीको पिसिआर परिक्षण बढीमा ७ दिनभित्रको भएको हुनुपर्ने पनि निर्णय गरिएको छ । यस्तै, कुखुरा उत्पादन भएको ठाउँको विल हुनुपर्ने, पशु स्वास्थ्य क्वारेन्टिनमा जाँच भएको हुनुपर्ने पनि निर्णय भएको छ । मासु व्यवसायी संघका अध्यक्ष महेन्द्र तामाङले पनि सबैको सहमतिमा मुल्य निर्धारण गरिएको बताए । ‘हामीले मुल्य निर्धारण गर्न खोज्दा विवाद भइरहेको थियो, तर स्थानीय सरकारको पहलमा सबैको सहमतिमा यो मुल्य निर्धारण भयो, राम्रो हो,’उनले भने ।