धरान: धरानका मेयर तिलक राईको निर्देशन र प्रत्यक्ष उपस्थितिमा सालको रुख काटिएको भन्दै भालढुंगा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्षले वन कार्यालयमा उजुरी दिएका छन् ।

वन समुहका अध्यक्ष बुद्धिमान तामाङले मेयर राईको नाम किटान गरि इलाका वन सब डिभिजन कार्यालयमा उजुरी दिएका हुन् । हिजो(आइतबार) भदौ १४ को मिति उल्लेख गरिएको भएपनि वनका अधिकारीहरु आज स्थलगत मुचुल्का उठाउन गएको बेला अध्यक्ष तामाङले पत्र दिएका थिए । ‘मैले वनलाई घटनाको जानकारी गराएर कारबाही पनि गरिपाउँ भनेर उजुरी दिएको छुँ,’वन समुहका अध्यक्ष तामाङले भने ।

उजुरीमा उनले मेयर राईकै निर्देशन र उपस्थितिमा दुई वटा विद्युतीय आरा प्रयोग गरि व्यक्तिगत प्रयोजनको लागि वा कुनै नियतले ढाल टुन गरि निकासी गर्ने तयारी गरिरहेको अवस्थामा उपभोक्ताहरुले फेला पारी जानकारी पाएको उल्लेख गरका छन् । साथै, उक्त ठाउँमा गएर हेर्दा काँचो खडा रुख काटिएको पाइएको भन्दै रुख कटान गरि लाने व्यक्तिउपर कारबाही गर्न पनि अनुरोध गरेका छन् । मेयर राईले भने आरोपको खण्डन गर्दै आएका छन् ।

मेयरको नाम उल्लेख गरेरै उजुरी दिएपनि पत्रमा चलानी नम्बर भने उल्लेख छैन । सब डिभिजन कार्यालय विष्णुपादुका प्रमुख राजेन्द्रप्रसाद यादव चलानी नम्बर नभए पनि निवेदन लिएको र नम्बर पछि टिपाउन लगाएको बताए । उनका अनुसार कार्यसमितिको निर्णय पनि छैन । यद्यपी, अनुसन्धान र छानविनको दायरामा उक्त उजुरी पत्र पनि रहने उनले बताए । ‘आज वरामदी मुचुल्का गरेर फर्किएका छौं, अध्यक्षको निवेदन पनि लिएका छौं,’उनले भने,‘अनुसन्धान शुरुवात भएको हो, भोली को को दायरामा पर्छन्, के के आवश्यक कागजात चाहिन्छ माग गर्दै जान्छौं ।’

मेयरको पक्ष र विपक्षमा उपभोक्ता

वरामदी मुचुल्का उठाउन गएको वनको टोलीले समुहका पदाधिकारी र उपभोक्ताहरुसँग पनि आवश्यक जानकारी लिएको थियो । त्यसक्रममा रुख काटिएको घटनामा धरानका मेयरको संलग्नताबारे उपभोक्ताहरुमो पनि २ पक्ष विभाजित भएका थिए ।

कसैले मेयरले नै काट्न लगाएको दाबी गरे भने कसैले मेयरले होइन भनेर दाबी गरे । ‘त्यहाँ दुई पक्ष भयो । एक पक्षले मेयरले नै हो भन्छ, अर्को पक्षले होइन भन्छ,’अधिकृत यादवले भने,‘अनुसन्धान भर्खर त शुरु भएको छ, थप कुरा बुझ्दै जान्छौं ।’

मेयरले दिएको निवेदन गायब !

मेयर राईले घर बनाउनको लागि काठ माग गर्दै बिहिबार लिखित निवेदन दिएको बताइएको छ । तर, उनको निवेदन आज वन कार्यालयका अधिकारीहरु पुग्दा भने कसैले देखाउन सकेनन् । छलफलमा अध्यक्षले सचिवलाई राख्न दिएको जानकारी गराए । सचिवले आफुले नराखेको र सहसचिवलाई पत्र दिएको बताएका थिए । सहसचिवले दर्ता नै नभएको पत्र आफुले नराखेर त्यही छोडेर हिडेको बताएका थिए ।

बिहिबार मेयरले निवेदन दिएपछि शुक्रबार सोही आधारमा वन समुहका पदाधिकारीहरुबीच छलफल भएको थियो । उक्त छलफलमा खडा रुख नकाट्ने तर ढलापडा रुख खोजी गरेर दिने मौखिक सहमति भएको थियो । तर, शनिबार सालको रुख काटिएर मेयर विवादमा तानिएका थिए । विवाद शुरु भएपछि मेयरले दिएको भनिएको निवेदन पनि रहस्यमय तरिकाले हराएको छ ।

rukh-katan1