दानाबारीको अर्गानिक अनुहार चिहाउँदा

  • प्रकाशित: भदौ २०, २०७७ / 540 पटक पढिएको
  • उमेश भण्डारी
alt

एकदिन अघि, हिजोकै दिन हो असफल प्रयास गरेको । शिवजट्टातिरबाट नजिक हुन्छ भनेर १ बजे तिरै साइकल निकालेर उकालो लागियो । अस्तिसम्म सहजै पुगिने बाटो झन्नै झरना पुग्न लाग्दा पहिरो झरेर साइकल डोर्याउनुपर्ने अवस्था रहेछ भने मोटरसाइकल र टेम्पो त कट्नै नसक्ने अवस्था भएछ ।    

जब शिवजट्टा झरनानिर पुगेर उकालो लाग्नै मात्र लागेको थिएँ, मास्तिरबाट ४–५ जनाको हुलसित जम्काभेट भयो । मैले मेरो दानाबारिको यात्राको बाटो सोधी हेरे । कस्तो संयोग, त्यो टोलि दानाबारीबाटै झरेको रहेछ । तर साइकलबाट जान नमिल्ने कुरो बुझियो । आजलाई त्यहि यात्रा बिट मारेर भोलि दानाबारी प्रस्थान गर्ने प्रणसहित त्यसदिनको यात्रा  शिवजट्टामै टुंङ्गयाइयो। बाटोमा जुका असाध्य भएको पनि जानकारी पाइयो । शिवजट्टाबाट दानाबारी हिडेर दुई घण्टामा मजाले पुगिने रहेछ । सफलता हात लाग्नु मात्र ठूलो हैन, हिम्मत र जोशसहित अघि बढ्नु नै यात्राको सार्थकता हो ।  

भोलिपल्ट बिहानको खाना खाएपछि करिब एघार बजेतिर साइकल सहित यात्रा सुरु गरियो बगरकोटबाट। लक्डाउन भर्खरै खुलेकोले अलिक चहलपहल बढेको देखिदै छ बजारतिर । भिडभाडबीनाको सडक सहर झैँ नलाग्ने । त्यो दौडधुप, कोलाहल र समय भुलेर यो सहर हिजोको समय टिकटिक गर्दैछ । सायद कोरोनाले जिन्दगीको घडी रोकिदिएको या पछि धकेलिदिएको छ । आखिर जिन्दगि जसरी पनि त चल्दो रहेछ । भिडबीनाको मान्छे मनुवा नै नलाग्ने, हामी सामाजिक कम भिड धेरै रहेछौँ ।  
danabari-clickdharan
यस्तै यस्तै सोच्दासोच्दै झन्नै हुत्तिएको सेउती खोलामा ।  सेउती खोलाको काठेपुल तरेर देवीगाउँ हँुदै उकालैउकालो पत्रङबारीतिर बाटो लागियो । रातोमाटो, सखुवाका सलक्क परेका रुखहरु,भर्खरै रोपिएका कोदो, सिमलतरुलका  झ्यांगहरु र रुद्राक्षका अग्ला बोटहरु छिचोल्दै साइकलको पाईडल निरन्तर चलायमान छ । बस रोकिएको छ त मनुवाका जिन्दगीका रंगिन प्रगतिका सपनाहरु। सोच्छु के भौतिक सपनाहरु मात्र सपना हुन् ? के यो रोकिएको समय आफैलाई खोज्ने मौका हैन र ,कतै तपाई पनि आफैसंग दूर त हुनुभएको छैन ? एकपल्ट कोरोनाले दिएको मौकामा आफैलाई पो खोज्ने हो कि, आफुले आफैलाई भेट्टाएको दिन सुरु हुनेछ हाम्रो मनुस्य जिबन ।

बाटोभरी सागबारी र धानखेत सधैभरि येस्तै देख्न पाए पो । इटहरीतिर खेतको पल्लो कुनाकाप्चा प्लाटिङले सखाप छ । यता तिर चै त्यस्तो कहिँ देखिएन । पत्रंङबारीहँुदै पन्चकन्या मन्दिरबाट उकालो लागेपछि सुन्दर फाट देखियो । सहरबाट मात्र केहि किलोमीटर दूर रहेका यी गाउँले जिबनको झझल्को दिने । जता हेर्यो त्यतै हरियो सलक्क फस्टाएका धानखेत, एकान्तलाई चिर्दै सलल बग्ने कुलो र बटुवाको पर्खाइमा रहेको बर पिपलको छहारीको आनन्दलिदै यात्रा अगाडी बढीरह्यो । बाटो बिचबिचमा हिलाम्य छ । तर साइकलमा भएकोले अझ रमाइलो भइरहेछ । केहि मालबाहक टाटासुमोहरु आउजाउ गर्दैछन् । नगन्य मोटरसाइकल पनि चलेको देखियो । पहिरो लडेका ठाउँहरु प्रसस्तै देख्न मिल्यो । बाटोमा सायद डोजर जतापायो त्यतै चलाएर होला ।

हिड्ने बेलामा मौसम सफा रहे पनि सिमसिम पानि परिरहेछ । जसले यात्रा अझ मनोरम र सहज भइरहेको छ । झन्नै ढेड घन्टाको  यात्रा पछि  आइपुगियो श्रीगाउँ । स्वागत भन्दापनि  कोरोनाले गर्दा बाहिरको मान्छेहरु  गाउँ छिर्न मनाही लेखिएको बोर्डले सबैभन्दा पहिले स्वागत गर्यो । बोर्डले जे भने पनि गाउलेहरु सारै मिजासिला । भौतिक दुरी कायम गरेर केहि गफगाफ गरियो । बाटो आएपनि दैनिक जिबन उस्तै रहेको सुनियो । घरहरु पनि खासै थपिएका रहेनछन् ।  केहि घरहरुमात्र भएको यो डांडाबाट पनि धरानको राम्रै दृष्यावलोकन हुने रहेछ ।

गाउँभन्दा तल ठुलो पहिरो गएको देखिन्छ भने पारी सुमनटार र उकालोलाग्दा दाहिनेतिरबाट हर्दिया र सिधै उकालोलाग्दा दानाबारी पुगिने रहेछ ।  हर्दिया जाने बाटो पहिरोले बन्द भएकोले दानाबारी हुदै जानु पर्ने रहेछ । केहिबेरको भलाकुसारीपछि फेरी उकालो लागियो ।  गाई र बाख्रा गोठालाहरु बाटोमा प्रसस्तै भेटिए । मास्तिर लाग्दैजादा बाटो अलिक अप्ठ्यारो रहेछ । झन्नै अढाई घण्टाको उकालो साइकल पेलेपछि दानाबारी बल्ल आइपुगियो । ठाडोबाटोको दुवैपट्टि घरहरु नियाल्दै एउटा घरमा गएर आफैले इस्कुस टिपियो । २ वटा जति रिसोर्टहरु धमाधम बन्दै रहेछन् । स्थानिय कान्छा राईका अनुसार यहाँ पहिला धेरै रुद्राक्षको दाना पाइने भएकोले ठाउको नाम दानाबारी रहनगएको रहेछ। तर अहिले चाहि रुद्राक्षका बोटहरु एकदमै कम देखियो । देविथान डांडामा ठुला ठुला झन्डाहरु फर्फरैरहेका, लुकामारी खेल्दै अगाडी बढिरहेका बादलहरु नाकमै ठोकएउला झैँ चिसो हावाको झोकासहित अघि बढी रहेछन, निरन्तर यात्रामा । 

३०–४० घर मात्र रहेको यो ठाउँ सुनसान तर सुन्दर छ । धरानको मनोरम दृश्य, सप्तकोशी नजिकझैँ लाग्ने, मौसम राम्रो हुँदा इटहरी, बिराटनगर र पथरिसम्मको राम्रो दृष्य अवलोकन हुने रहेछ । केहि समय अगाडी प्याराग्लाइङिको सफल परीक्षण भै सकेको यस स्थानबाट भेडेटार, नाम्जे साथै ओख्रे टावर पनि मौसम सफा हुदा देखिन संकिने रहेछ । मलाई लाग्छ धरानको अर्को प्याराग्लाइडि चिन्डेडाँडा भन्दा यताको उडान झनै लामो दुरी र हाइट भएकोले अझ आकर्षक बन्न सक्नेछ। चिसो मौसम र सितल हावा अनवरत चलिरहेने हुनाले गर्मि छल्न इटहरी, बिराटनगर साथै तराईका जिल्लाहरुबाट धेरै पर्यटकलाइ आकर्षित गर्न सकिने प्रचुर सम्भावना रहेको छ ।    

हर्दियाहँुदै यहाबाट नाम्जे पनि सजिलै निस्कन सकिने रहेछ । साइक्लिङको अपार सम्भावना बोकेको यस ठाउँलाइ प्रबर्दनको निकै खाचो रहेको स्थानीय ब्यवसायी तुल मोक्तानको आसय रहेको छ । कालोपत्रे सडकको बजेट बिनियोजन भइसकेको यो स्थान केहि बर्षमै आन्तरिक तथा बाह्य पर्यटनको प्रमुख गन्तब्य बन्न सक्ने प्रचुर सम्भावना रहेको छ । भेडेटार गइरहने हरुको लागि भेडेटारको बैकल्पिक गन्तब्यको रुपमा पक्कै पनि यो ठाउँ बिकसित हुनेछ ।  मलाई आफैचाही यो अफ रोड बाटो र यहाँको मौसम अनि तल र माथि दुवैतिर देखिने बादल, हुस्सु र धरानको दृश्य धेरै नै रमाइलो लाग्यो ।

बाटो जताततै डोजरको जथाभाबी प्रयोगले डाँडानै उजाड बन्दै गएको पनि देखियो । यो बिल्कुल रोक्न र वर्षा मौसममा पनि बाटोको आवतजावत सुचारु राख्नु आवस्यक छ । राइहरुको बस्ति रहेको यो ठाउँले लोकल संस्कृति झल्काउने कला र सामग्रीहरुको प्रबर्धन गर्न सके अझ उत्तम हुने देखिन्छ । नासपाती र सिस्नो पनि टिपेर झोलामा हाल्दै केहि समय व्यतित गरेर हर्दियाको स्कूल सम्मको यात्रा तय गरेपछि यात्रालाइ बिट मारियो । पारीको सुमनटार अर्को यात्राको गन्तब्य बनाउने सोच सहित झन्नै २ घण्टा समय व्यतित गरेपछि साँझको समयमा ओरालो साइकलमा ४० मिनेटको यात्रा टुंगियो ।  

[email protected], भदौ ११ बिहिवार


(घुमिफरमा सौखिन भण्डारीको हरेक शनिवार घुमफिर स्तम्भ क्लिक धरानमार्फत नियमित रुपमा प्रकाशित हुनेछ । सं.)

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2020 - क्लिक धरान - सर्वाधिकार सुरक्षित