इटहरीः इटहरीका होटल व्यवसायीले अन्तिम पटक भन्दै सरकार गुहारेका छन् ।

इटहरी उपमहानगरपालका, प्रहरी प्रशासन र सुनसरी जिल्ला प्रशासन कार्यालय इनरुवामा पुगेर व्यवसायीहरुले बन्द होटल व्यवसायीको सहज सँचालनका लागि माग राखेका छन् । इटहरी होटल व्यवसायी सँघका अध्यक्ष जीवन पराजुलीले ६ महिनाभन्दा बढि बन्द भएका होटल व्यवसायीहरु टाट पल्टिने अवस्थामा पुगेको भन्दै अब व्यवसायीको धैर्यताको बाँध टुटेको बताए । उनले व्यवसायीको व्यापार जीरो हुँदा निरन्तर बैँकको ब्याज तिरिरहेको भन्दै तीनै तहका सरकारले व्यवसायीको नोक्सानीको कहिँकतै सम्बोधन भएको गुनासो गरे ।

'हामीले यत्रो समय पर्खियौँ त,'उनले भने,'यस्तो हो भने हामी थाल बटुका लिएर सडकमा आउनुपर्छ । सरकारले नहरेपछि हामी बन्द होटल व्यवसाय सुचारु गर्ने तयारीमा छौँ ।' पराजुलीकाअनुसार असोज १ गतेदेखि इटहरी क्षेत्रका सम्पुर्ण होटल खोल्ने तयारी छ । जसका लागि उनले इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी, इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारी र सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोख्रेलालाई भेटि ज्ञापन पत्र बुझाइ सकेका छन् ।

hotel-itahari-cdo-sunsari

ज्ञापन पत्र बुझाउन पुगेका उद्योग वाणिज्य सँघ इटहरीका अध्यक्ष भीमबहादुर पौडेलले सोमवार देखि इटहरी क्षेत्रको बजार १ बजेसम्म खोल्न आग्रह गरिएको जानकारी दिए । अरु बेला ११ बजेसम्म मात्र खोल्ने सहमती भएपनि ग्राहक र व्यापारीको सहज समय नभएको गुनासो आएको हुँदा प्रशासनलाई थप समय माग गरिएको जानकारी दिए । उनले यतिका समय पसल बन्द गर्दा घर भाडा र बैकको ब्याजसँगै सामानको गुणस्तर बिग्रिएको भन्दै व्यापारी चौतर्फि समस्या परेको बताए । उनले अब बजार १ बजेसम्म खोलिने जानकारी दिए । व्यवसायीलाई प्रमुख जिल्ला अधिकारी पोख्रेलले धेरै भिडभाड नगरि स्वास्थ्य सजकता अपनाएर व्यवसाय सँचालन गर्न अनौपचारिक रुपमा अनुमती दिएका छन्