धरान: आफुहरु अन्यायमा परेको भन्दै निजी तथा संस्थागत विद्यालयका शिक्षकहरुको संस्थाले धरान उपमहानगरपालिकालाई गुहारेका छन् ।
निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन(प्याब्सु) सुनसरी र संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन(इष्टु) सुनसरीले उपमानगरपालिकालाई न्यायको माग गर्दै गुहारेका हुन् । दुवै संगठनले सोमबार धरानकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीलाई निवेदन बुझाएका थिए । प्याब्सु सुनसरीका सचिव रोमनाथज ढुंगेलले विद्यालय शिक्षाको अधिकार स्थानीय तहलाई भएकोले न्याय स्थापित गराउन माग गर्दै पत्र बुझाइएको बताए ।
निजी विद्यालयका शिक्षकहरुले लकडाउन यता तलब पाउन नसकेको र धेरै समस्यामा परेको भन्दै उनले उपमहागनरपालिकाले नियमन गर्नुपर्ने बताए । ‘५,६ महिना भइसक्यो, तलब पाइएको छैन । उपमहानगरले जुन किसिमले नियमन हुनुपर्ने हो, नगर्दा अन्यायमा पर्यौं,’उनले भने,‘उपमेयर ज्युलाई भेटेर पहल होस्, न्याय दिलाइपाउ भनेका छौं ।’
विद्यालय सञ्चालकहरुले अनुकुल समयमा मुनाफा लिएको तर अहिलेको बिषम परिस्थितिमा भने जिम्मेवारीबाट पन्छिएको ढुंगेलले बताए । सञ्चालकहरुले समस्या पर्दा आफ्ना शिक्षक, कर्मचारीहरुलाई साथ नदिदा धेरैको विजोग अवस्था भएको उनले बताए । ‘विद्यालय सञ्चालकहरुले राज्यले केही दिएन, लगानी डुब्ने भयो भनेर तलब, सविधा दिन अन्कनाए,’ढुंगेलले भने,‘हिजो विद्यालय स्वीकृत लिदा जुनसुकै अवस्थामा सेवा,सर्त दिन्छौं भनेका थिए, अनुकुल हुदा मुनाफ लिए तर अहिले वेवास्ता गरे ।’
शिक्षकहरुका अनुसार धरानको विष्णु, युरेका, केके इन्टरनेशनललगायत केही औलामा गन्न सकिने विद्यालयले मात्र हातमुख जोर्न केही रकम पेश्की दिएका छन् । तर, अन्य विद्यालयहरुले वेवास्ता गर्दा हातमुख जोर्न नै शिक्षकहरुलाई समस्या भएको छ । उपमेयर मञ्जु भण्डारी सुवेदीले निजी विद्यालयका शिक्षकहरुको समस्याबारे आवश्यक छलफल गर्ने बताइन् । ‘उहाँहरुलाई एकदमै समस्या छ, यसबारेका सरोकारवालाहरुसँग समन्वय गरेर छलफल गछौं,’उनले भनिन् ।