धरान: पुर्वपश्चिम रेल्वे लाइन अन्तर्गत इनरुवा–काँकडभिट्टा खण्डको एक सय ६ किलोमिटर खण्डको रेलमार्ग निर्माणको टेण्डर आह्वान रद्द गरिएको छ ।
रेलमार्ग निर्माणको ठेक्का मिलेमतोमा आह्वान गरिएपछि विवादमा परेको थियो । रेल्वे विभागले गत असारमा इनरुवा–काँकडभिट्टा खण्डको रेल्वे ट्याकबेड बनाउन टेण्डर आह्वान गरेको थियो । पहुँच र मिलेमतोमा अबौं रुपैया अनियमितता गर्न लागेको सार्वजनिक भएपछि आलोचना शुरु भएको थियो भने टेण्डर रद्द गर्त तीब्र दबाब परेको थियो । रेल्वे विभागले आज एक पत्रिकामा सूचना प्रकाशित गर्दै ठेक्का रद्द भएको जानकारी दिएको छ ।
स्रोतका अनुसार नेपाल निर्माण व्यवसायी महासंघको आवरणमा केही निर्माण व्यवसायीहरुले मिलेमतो गरेर ठेक्का लिने योजना बनाएका थिए । व्यवसायीहरुले यो मिलेमतोमा सत्ता पक्ष, प्रमुख प्रतिपक्षदेखि अख्तियार, सार्वजनिक लेखा समिति, विकास समिति, रेल्वे विभागका उच्च अधिकारीहरु सबैसँग सेटिंग गरेको बताइएको छ । यसरी मिलाउदा १० अर्ब अनियमितता हुने हिसाब सार्वजनिक भएको थियो ।
विभागले ठेक्कालाई ५४ टुक्रामा विभाजन गरिएको थियो। यो ठेक्काका ५४ वटा प्याकेजमध्ये १८ जना व्यवसायीलाई २ वटाका दरले ३६ वटा बाँडिएको थियो भने बाँकी १८ प्याकेजमा पनि जेभीका रुपमा आआफ्ना व्यवसायीलाई हालिएको थियो। मिलेमतोका कारण मुलुकका डेढ सय निर्माण व्यवसायी भने प्रतिस्पर्धाबाट बाहिरिएका थिए । विभागले चलखेल गरी रेलको ट्याकबेड निर्माणको ठेक्कामा प्रतिस्पर्धा गर्नबाट आफूहरुलाई रोकेपछि यसको विरोधमा केही व्यवसायी अख्तियार, लेखा समितिमा र अन्तमा उच्च अदालतसम्म पुगेका थिए।