धरान: धरान ११ मा पासो लागेर आत्महत्या गरेको भनिए पनि शंकास्पद मृत्यु भएको २२ बर्षीया सोनीहाङ्मा लिम्बुको पोष्टमार्टम पश्चात आज अन्त्येष्टी गरिएको छ ।

चार दिनअघि सोमबार आफ्नै कोठामा शंकास्पद अवस्थामा उनको मृत्यु भएको थियो । परिवारले आत्महत्या गरेको दाबी गरेपनि माइती पक्षले मृत्यु शंकास्पद भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । मृतक लिम्बुको आज दिउँसो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरेर अन्त्येष्टी गरिएको काका टेकराज तिगेलाले जानकारी दिए । ‘पोष्टमार्टम गरेर अन्त्येष्टी पनि गरियो,’मृतक सोनी हाङ्माका काका तिगेलाले भने ।

काका तिगेलाका अनुसार मृतक सोनीहाङ्माको शवलाई खत्री धारामा जलाइएको थियो । लिम्बु सँस्कारमा मृत्यु भएकाहरुलाई गाड्ने चलन भएपनि अकालमा मृत्यु भएकालाई जलाउनुपर्ने उनले बताए । ‘लिम्बु सँस्कारमा शवलाई गाड्नुपर्ने हो, तर अकालमा मानिस मर्दा जलाउने चलन छ,’उनले भने ।

पक्राउ परेकालाई १० दिनको म्याद थप

मृतक सोनीहाङ्माका माइती पक्षले छोरीको मृत्यु शंकास्पद भएको भन्दै सिंगापुर लाहुरमा भएका पति आइत माबोसहित ५ जनाको विरुद्ध किटानी जाहेरी दिएको थियो । सोही जाहेरीको आधारमा हिजो बुधबार सोनीको ससुरा ६१ बर्षीय भीम माबो, देवर २० बर्षीय हेमकुमार माबो, आमाजुहरु २८ बर्षीया सञ्जु माबु र २५ बर्षीया विमला माबो पक्राउ परेका थिए । जिल्ला अदालत सुनसरीबाट अनुमति लिएर पक्राउ परेका उनीहरुलाई आज (बिहिबार) अदालतले अनुसन्धानको लागि १० दिन हिरासतमा राख्ने अनुमति दिएको छ । ‘चारै जनालाई आज १० दिनको म्याद थप भएको छ,’प्रहरी निरीक्षक हेमराज ओलीले भने ।

सोमबार पंखामा सलले पासो लागेर सोनीले आत्महत्या गरेको परिवारको दाबी छ । खाना खान बोलाउदा ढोका नखोले पछि जर्बजस्ती ठेलेर चुकुल खोलेको र देवरले खुट्टाबाट उचालेपछि छिमेकी एक महिला आएर पासोबाट निकालेको परिवारले प्रष्टीकरण दिदै आएको छ । प्रहरी घरमा पुग्दा सोनीको शव खाटमा राखिएको अवस्थामा थियो । उनको माइती पक्षले झुण्डिएर आत्महत्या गरेको भनिए पनि शव खाटमा सुतेको अवस्थामा भेटेकोले शंका गर्दै अनुसन्धानको लागि जाहेरी दिएका थिए ।