धरान: लकडाउनको अवधिमा उपभोक्ताहरुलाई जरिवाना लिएको र छुट नदिएको भन्दै नेपाल तरुण दल धरान उपमहानगर समितिले नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ ।

तरुण दलले आज प्राधिकरणको धरान वितरण केन्द्र प्रमुख प्रताप वराललाई भेट गर्दै ध्यानाकर्षण गराएको हो । तरुण दलका नगर अध्यक्ष हिमाल श्रेष्ठका अनुसार लकडाउनको बेला ढिलो मिटर रिडिङ गरेर प्राधिकरणले उपभोक्ताहरुलाई जरिवाना तिराएपछि तरुण दल डेलिगेशन गएको हो । ‘विगतमा मिटर रिडिङ भएको २१ दिनभित्र नलाग्ने नियम थियो तर अहिले १४ दिनभित्र तिरे मात्र जरिवाना नलाग्ने नियम बनाएको रहेछ,’उनले भने,‘अहिले बिल नै १५ दिनमा आएको छ, जनताले समयमा तिर्ने, छुट पाउने मौका नै पाएन, र जरिवाना पनि तिर्नुपर्यो ।’

न्युनतम चार्ज कसैलाई १ सय, कसैलाई २५० रुपैया लिएको बिषयमा पनि ध्यानाकर्षण गराएको अध्यक्ष श्रेष्ठले बताए । यस्तै, उपभोक्ताको जग्गाबाट तार गएको अवस्थामा पोल सार्नुपर्दा उपभोक्ताले नै पैसा तिर्नुपर्दा उपभोक्ता थप पीडित भएको बिषयमा पनि ध्यानाकर्षण गराइएको उनले बताए । ‘अबदेखि पोल सार्दा प्राधिकरण आफैले खर्च गर्नुपर्छ भनेका छौं । प्रमुखले माथिल्लो निकायमा समस्याहरुबारे रिपोर्टिङ गरिसकेको र चाडै समाधान हुने भन्नुभएको छ,’श्रेष्ठले भने,‘न्युनतम चार्जको कुरा चै एम्पियर अनुसारको फरक हुने भन्नुभयो, हामीले समायोजन गर्नुस् भन्यौं ।’

प्राधिरकणको धरान वितरण केन्द्रका सुचना अधिकारी आशुतोष कर्णले नयाँ ट्यारिफ बनेकोले समस्या देखिएको बताए । उनका अनुसार विगतमा जरिवाना २१ दिनपछि मात्र लिने भन्ने थियो । अहिले अहिले १५ दिनपछि जरिवाना लाग्ने भएको छ । साथै, विगतमा संघीय सरकारले देशभर लकडाउन गर्दा जरिवाना र छुट गर्ने केन्द्रीय निर्देशन भएपनि अहिले स्थानीय तह र प्रशासनले लकडाउन गर्दा जरिवाना नलिने बारे निर्देशन नभएको उनले बताए । ‘लकडाउनले कार्यालय बन्द भएर खुलेपछिको ६ दिनसम्म छुट पाउने व्यवस्था थियो, तर ७ औं दिनदेखि छुट पाएन, सिस्टम नै यही भएको छ,’कर्णले भने,‘यो समस्याबारे केन्द्रीय कार्यालयमा रिपोर्टिङ भइसकेको छ ।’