धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्टहरुले आफ्ना मागहरुप्रति गम्भीरता नदेखाएको भन्दै २४ घण्टे अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएका छन् ।

जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले आइतबार प्रतिष्ठानका उपकुलपतिलाई ज्ञापनज जानकारी पत्र बुझाउदै २४ घण्टाभित्र मागहरु पुरा नगरे २९ गतेदेखि इमर्जेन्सी बाहेक कोभिडसहित सम्पुर्ण सेवाहरुमा सहभागिता नजनाउने चेतावनी दिएका छन् । सोसाइटीले यसअघि भदौ ५ गते मागपत्र बुझाउदै आन्दोलनको घोषणा गरेको थियो । मागहरुको बिषयमा एक समिति गठन भएको थियो । उक्त समितिले ३ दिनभित्र समस्या समाधान हुने गरि प्रतिवेदन बुझाउने भनिएको थियो । तर, अहिलेसम्म समस्या समाधान हुन सकेको छैन ।

उपकुलपतिलाई बुझाइएको पत्रमा अस्पताल प्रशासनलाई समस्याहरुको समाधानको उपायसमेत प्रस्ततु गर्दा पनि मागहरु सम्बोधन नगरी हेल्चेक्र्याई र ढिलासुस्ती गरेको उल्लेख छ । यस्तै, पटक पटक ताकेता गर्दा पनि गुणस्तरहिन खाना दिइरहेको र क्वारेन्टिनलाई सामान्य मापदण्ड समेत नपुगेको स्थानमा सारेको भन्दै सोसाइटीले खेदसमेत व्यक्त गरेको छ ।

सोसाइटीका उपाध्यक्ष डा.पदम नेपालीका अनुसार कोभिड विरामीको उपचारलाई अझ गुणस्तरीय बनाउनकै लागि यस्तो माग गरिएको हो । तर एक महिनादेखि प्रतिक्षा गर्दा पनि माग सम्बोधन हुन नसक्दा पुनः आन्दोलनमा उत्रन बाध्य हुनुपरेको उनले बताए । अस्पताल निर्देशक डा.गौरीशंकर साह संयोजक भएको समितिमा मागबारे सहमति भएर हस्ताक्षर भइसक्दा पनि कार्यान्वयन नहुनु दुःखद भएको उनले बताए । ‘अझै पनि खाना खानै नसकिने आउछ, क्वारेन्टिनको व्यवस्थापन पनि अव्यवस्थित भयो । यस्तो हुँदा जोखिम मोलेर काम गर्नेहरु निरुत्साहित हुन्छन्, र यसले कोभिड विरामीको उपचारमा नै असर पुग्छ,’उनले भने ।

bp-jr