धरान: एम्स एकेडमी धरानले बास्केटवल खेलाडीहरुलाई छात्रवृत्ति दिएको छ ।

धरान बास्केटबल संघले आयोजना गरेको पाँचौ बास्केटबल ट्यालेण्ट हण्टका उत्कृष्ट ७ खेलाडीलाई एम्सले छात्रवृती दिएको हो । विद्यार्थीहरुलाई छात्रवृत्ति दिने सम्झौता पत्रमा आज एम्स र धरान बास्केटबल संघबीच हस्ताक्षर भएको छ । संघका अनुसार विनम राई, सञ्जय रानामगर, शिव गजमेर, इन्दु भण्डारी, सुविन राई, निकेश राई र निशान तामाङले छात्रवृत्ति पाएका हुन् । एम्सले विद्यार्थीहरुलाई ६० प्रतिशत छात्रवृत्ति दिने सम्झौता भएको हो ।

सम्झौता पत्रमा विद्यालयका तर्फबाट एकेडमीका संचालक समिति अध्यक्ष प्रकाश राई, व्यवस्थापकीय निर्देशक अनुप योञ्जन तामाङ र प्राचार्य मित्र तामाङले हस्ताक्षर गरेका थिए । संघकोतर्फबाट बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष तथा धरान बास्केटबल संघका अध्यक्ष सुरज लामा, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी र प्रदेश नं. १ मुख्य प्रशिक्षक विकास चाम्लिङ राईले हस्ताक्षर गरेका थिए ।

DSC_0665.psd

एम्सका अध्यक्ष राईले खेलसँगै शिक्षा भन्ने उद्देश्यले विगत ३ वर्षदेखि बास्केटवल संघसँग सहकार्य भइरहेको बताए । उनले छात्रवृत्ति पाउने विद्यार्थीहरु बास्केटबल सेलिब्रिटीकोरूपमा नयाँ परिचय थपिएको उल्लेख गर्दै खेल र अध्ययनलाई सँगै अघि लैजान आग्रह गरे । संघका केन्द्रीय उपाध्यक्ष लामाले विद्यार्थीहरुलाई जिम्मेवारी बोध गराउन अभिभावकसमेतको उपस्थितिमा सम्झौता गर्न थालेको र यो प्रभावकारी भएको बताए ।

संघका जिल्ला अध्यक्ष सुवेदीका अनुसार धरान उपमहानगरको संयोजन र सुनसरी बास्केटवल संघको प्रविधिक सहयोगमा ३ साता लामो ट्यालेन्ट हन्ट कार्यक्रम गरिएको थियो । सोही कार्यक्रमबाट छात्रवृत्तिको लागि उत्कृष्ट खेलाडी छनौट गरेर सिफारिस गरिएको उनले बताए । धरान १६ रंगशाला स्थित इन्डोर बास्केटवल कोर्टमा बास्केटवल ट्यालेन्ट हन्टमा राखेप १ नम्बर प्रदेशका प्रशिक्षक विकास चाम्लिङको नेतृत्वमा प्रदेश १ बास्केटवल टिम क्याप्टेन नविन राई, हेमन्त राई, रन्जित लिम्वु, विराज लिम्वु, युगल लिम्वुले प्रशिक्षण दिएका थिए ।