धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पुर्वउपकुलपति प्रा.डा.बलभद्रप्रसाद दासले गैरकानुनीरुपमा अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

आयोगले आज दासविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार दासले ७ करोड ७१ लख ९२ हजार ८ सय ६० रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएको छ । प्रतिष्ठानको विभिन्न पदमा हुँदा उनले भ्रष्टाचार गरेर अकूत सम्पत्ति कमाएको उजुरी परेपछि छानविन गर्दा त्यति रकम अकूत सम्पत्ति आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ । डा.दासलाई यो अख्तियारले बिशेष अदालतमा दोस्रो पटक मुद्दा दायर गरेको हो । यसअघि पनि उनीसहित अन्य पुर्वपदाधिकारीहरुलाई विभिन्न सामग्री खरीदमा प्रतिष्ठानलाई नोक्सानी हुने गरि मिलेमतो गरेको भन्दै भ्रष्टचार मुद्दा दायर गरेको छ । 

डा.दासले २०५० सालमा जुनियर रजिष्ट्रारबाट प्रतिष्ठानमा सेवा सुरु गरेका थिए । दास अस्पताल निर्देशक पनि भएका थिए । उनले २०६८ सालमा उपकुलपति र त्यसपश्चात प्राध्यापक पदमा रहेर काम गरिरहेका छन् । ‘२०५० सालदेखि २०७६ सालसम्मको अवधिमा उनले त्यति रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको देखिन्छ,’ अख्तियारको आरोपपत्रमा छ, ‘२०७६ असार ३० सम्मको उनको वैध आय ७ करोड ७० लाख १० हजार ४ सय ९८ रुपैयाँ ८० पैसा देखिन्छ । तर, उनको १५ करोड ३२ लाख ३ हजार ३ सय ५० रुपैयाँ खर्च तथा लगानी गरेको पुष्टि हुन आएको छ ।’ डा. दासले कमाएको अवैद्य सम्पत्ति उनको श्रीमतीको नाममा स्रोत नखुलेको सम्पत्ति विवरणमा राखेकोले दुवैको नाममा रहेको सम्पत्ति जफत गर्न पनि अख्तियारले माग गरेको छ ।

यस्तो छ अख्तियारको प्रेस विज्ञप्ति :-

मिति २०७७।०५।३० गते । ————————————————- वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका तत्कालीन उपकुलपति, डा. बलभद्र प्रसाद दासले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको हुँदा अनुसन्धान गरी कारवाही गरी पाउँ भन्नेसमेतको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज डा. बलभद्र प्रसाद दासले मिति २०५०।०३।२७ मा जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश गरी मिति २०६८।०९।१७ मा उपकुलपति र तत्पश्चात सोही प्रतिष्ठानमा प्राध्यापक पदमा कार्यरत रहेकोमा निजको सेवा प्रवेशको मिति २०५०।०३।२७ देखि २०७६।०३।३० सम्मको अवधिसम्म निजले रु. ७,७१,९२,८६०।२४ सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको देखिन्छ ।

तत्कालीन डा. बलभद्र प्रसाद दासले सार्वजनिक पद धारण गरेको मितिदेखि अनुसन्धान गर्न कायम गरिएको मिति २०७६।०३।३० सम्मको वैध आय रू. ७,६०,१०,४८९।८० आर्जन गरेको र सोही अवधिमा निजले रू. १५,३२,०३,३५०।०४ खर्च तथा लगानी गरेको पुष्टि हुन आई वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने रू. ७,७१,९२,८६०।२४ को खर्च तथा लगानीको स्रोत खुल्न नआएको हुँदा त्यस्तो खर्च तथा लगानी निजको पद र हैसियत अमिल्दो र अस्वभाविक देखिई उच्च जीवनयापनसमेत गरेको देखिएकोले आरोपी डा. बलभद्र प्रसाद दासको सो कार्य साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचारजन्य कसुर भए गरेको देखिंदा निज बलभद्र प्रसाद दासलाई बिगो रू. ७,७१,९२,८६०।२४ (अक्षेरूपी सात करोड एकहत्तर लाख बयानब्बे हजार आठ सय साठ्ठी रूपैया र चौबीस पैसा मात्र) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२) को प्रतिवन्धात्मक वाक्यांश एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुनका साथै साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग., दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम निज डा. बलभद्र प्रसाद दासको चलअचल सम्पत्तिबाट जफत हुन एवं निज बलभद्र प्रसाद दासले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी निजकी श्रीमती पुनम दासको नाममा राखेको हुँदा स्रोत नखुलेको सम्पत्ति साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग., दफा २९ उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम निज पुनम दासबाट जफत गर्ने प्रयोजनको लागि मात्र निज पुनम दासलाई समेत प्रतिवादी कायम गरी निजको नाममा रहेको सम्पत्ति उल्लिखित कानून अनुसार जफतको मागदाबीसमेत लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता

तारानाथ अधिकारी