धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण पुष्टि भएपछि उनको नजिक सम्पर्कमा रहेका पदाधिकारी र कर्मचारीहरुको स्वाब परीक्षण गरिएको थियो ।

उपकुलपतिको सम्पर्कमा आएका प्रतिष्ठानकै रेक्टर डा.गुरु खनाल, रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मी, प्रवक्ता डा.निदेश सापकोटासहित कर्मचारी प्रशासनका उमेश कोइराला, दिव्यराज थापाको पनि हिजो स्वाब परीक्षण गरिएको थियो । उनीहरु सबैको रिपोर्ट हिजो साँझ नै नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ । रिपोर्ट नेगेटिभ आएपनि अझै केही दिन भेटघाट नगर्ने रजिष्ट्रार डा.रेग्मीले बताए ।

रिपोर्ट नेगेटिभ आएपछि आजदेखि रजिष्ट्रार डा.रेग्मी कार्यालय आएका छन् । तर, फाइल हेर्ने गरि मात्र कार्यालय आएको उनले बताए । ‘भेटघाट बन्द गरेर फाइल हेर्ने गरि मा आएको हो,’रजिष्ट्रार डा.रेग्मीले भने । रिपोर्ट नेगेटिभ आएका रेक्टर डा.खनाल भने घरमा नै बसेका छन् । उनी अझै केही दिन क्वारेन्टिनमा रहेर पुनः पिसिआर परीक्षण गरेपछि मात्र कार्यालय आउनेछन् । ‘शैक्षिक कामहरु डिनमार्फत हुन्छ, केही पर्यो भने भर्चुअल कुराकानी भैहाल्छ,’रेक्टर डा.खनालले भने,‘आवश्यक नै परेको खण्डमा फाइलमा हस्ताक्षर गर्न समस्या छैन ।’

वीपीका उपकुलपति डा.गिरीलाई सोमबार साँझ कोरोना संक्रमण पुष्टि भएको थियो । लगत्तै उनले सामाजिक सञ्जाल फेसबुकमा आफुलाई संक्रमण भएकोले सम्पर्कमा रहेकाहरुलाई पनि पिसिआर परीक्षण गर्न आग्रह गरेका थिए । प्रतिष्ठानका पदाधिकारी, कर्मचारीसँगै उपकुलपतिको चालक, गार्ड र सेक्रेटरीको पनि रिपोर्ट नेगेटिभ आएको छ ।

अस्पताल निर्देशकले शुक्रबार मात्र परीक्षण गराउने

अस्पताल निर्देशक डा.गौरीशंकर साहले भने शुक्रबार मात्र स्वाब परीक्षण गराउने भएका छन् । उपकुलपतिसँग भेट भएको ५ दिन शुक्रबार पुग्ने भएकोले उनी अहिले होम क्वारेन्टिनमा नै बसेका छन् । जेआरहरुको मागको सम्बन्धमा अस्पताल निर्देशक डा.साह र उपकुलपतिबीच आइतबार छलफल भएको थियो । संक्रमण पुष्टि भएको व्यक्तिसँग सम्पर्कमा आएकाहरुको ५ दिनपछि मात्र स्वाब परीक्षण गराउने गरिन्छ । ‘म घरमा नै बसेको छुँ, शुक्रबार परीक्षण गराउछुँ,’उनले भने ।