विराटनगरः छिमेकीको पिटाइबाट घाइते भइ साउन ६ गते विराटनगर ल्याइएका सप्तरीका एक सदा दम्पती आज मात्र अस्पतालबाट मुक्त गरिएको छ । ५५ हजार उपचार खर्च तिर्न नसकेर अस्पताल प्रशासनले उनीहरुलाई बन्धक बनाएको थियो ।

आज प्रदेश १ सरकारका प्रवक्ता हिक्मत कुमार कार्कीको निर्देशनमा मोरङका प्रमुख जिल्ला अधिकारी  कोषहरि निरौलाले लिखित पत्रचार गर्दै विरामीलाई तुरुन्त छाड्न आदेश दिएका थिए । उनीहरुलाई अस्पतालको एम्बुलेन्सले नै सप्तरीको माहुलीस्थित घर पुर्याइदिएको हो । उपचार गराउन अस्पताल गएको ५७ दिनपछि सप्तरीका एक भुमिहीन सदा दम्पती घर फर्किएका छन् ।

अग्रिसाइवर कृष्णसवरण गाउँपालिका ५ का शिवचन्द्र सदा र उनकी श्रीमती मलियादेवीलाई विराटनगरको गोल्डेन अस्पताल  लगिएको थियो । उपचार खर्च तीर्न नसकेको भन्दै अस्पतालले उतै बन्धक बनाएपछि उनीहरुको विचल्लि भएको थियो । उनीहरूका ३ नावालक सन्तान मागेर गुजारा चलाउँदै आएका थिए । प्रमुख जिल्ला अधिकारी निरौलाले सदा दम्पतीलाई तुरुन्त छाड्न पत्राचार गरेको जानकारी दिए । उनले सप्तरी जिल्लामा चलिरहेको कुटपिटको मुद्धाबारे त्यहाँका प्रमुख जिल्ला अधिकारीसँग बुुझेर पीडकमार्फत क्षतीपुर्ती भराइ दिन समन्वय गरिरहेको जानकारी दिए ।

शुरुका एक हप्तामै घर लग्न चिकित्सकले अनुमती दिएपनि पीडितले उपचार वापतको ५५ हजार तीर्नसकेका थिएनन् । उनीहरुको मँगलवारसम्मको अस्पताल उपचार खर्च बापत १ लाख ९० हजार खर्च उठेको छ । वर्षाको पानीले लड्न लागेको जीर्ण घर पुगेका उनीहरुले जिविकोपार्जन गर्न समस्या रहेको अधिकारकर्मी भोला पासवानले बताए । उनले आफ्नो सँस्था दलित अधिकार मञ्चले करिव १५ दिन पुुग्ने खाद्यान्न उपलब्ध गराएपनि त्यो पयाप्त नभएको बताए । उनले पीडितको सहज जीवन यापनका लागि सहयोगको खाँचो रहेको औल्याए ।