धरान: प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईमाथि उनकै पार्टीकी एक महिला कार्यकर्ताले यौन दुव्र्यवहार गरेको गम्भीर आरोप लगाएकी थिइन् भने काठमाण्डौं जिल्ला अदालतमा अंश मुद्दा पनि दायर गरेकी थिइन् ।
दोलखा घर भएकी तिनै बालिका खड्काले भने अहिले मुद्दा फिर्ता लिइन् । त्यति मात्र होइन, आफुले अरु कसैको उक्साहटमा लागेर मुद्दा हालेको पनि स्वीकार गर्दै मुख्यमन्त्री राई निर्दोष भएको सावित गरिदिइन् । उनले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा फिर्ताका लागि निवेदन दिएकी थिइन् । उनको निवेदन र मुद्दा फिर्ताको कागज गरी बुझाएपछि जिल्ला अदालतले मुख्यमन्त्री राई विरुद्ध लागेको अंश मुद्दा खारेज गरिदिएको छ ।
खड्काले बुधबार जिल्ला अदालतमा गरेको कागजमा भनेकी छिन्, ‘म आफू अरुको दुरुत्साहनमा परी शेरधन राईकी श्रीमती भनी दाबी गरी अंश माग गरिएको हो ।’ नेपाली शब्दकोषका अनुसार दुरुत्साहनको अर्थ 'अरूलाई कानुनी वा नैतिक दृष्टिले अवैध कार्य गर्न प्रोत्साहित गर्ने काम, खराब काममा उक्साउने चाल' हो । श्रीमान् श्रीमतिको नाता कायम हुने वा हुनसक्ने कुनै प्रमाण नभएको र वास्तविकरुपमा आफुहरुको सम्बन्ध त्यस्तो नभएको पनि खड्काले स्वीकार गरेकी छिन् ।

खड्काले विगत ५ बर्षदेखि राईविरुद्ध आरोप लगाउदै आएकी थिइने् । मुख्यमन्त्री भएपछि पनि राईले यौन दुव्र्यवहार गरेको घटना चर्काउदै उनले आफु श्रीमति भएको दाबी गर्दै अंश मुद्दा पनि हालिन् । तर, मुख्यमन्त्री राईले आफुमाथि षडयन्त्र भइरहेको दाबी गर्दै खड्काको आरोप निराधार भएको र चाडै सत्य कुरा बाहिर आउने बताउदै आएका थिए । नेकपाका नेताहरुका अनुसार मुख्यमन्त्री राई र उनकै गृहजिल्ला भोजपुरका नेता कृपासुर शेर्पाबीचको टकरावको कारण खड्का राई विरुद्ध प्रयोग भएको बताउँछन् । तत्कालिन एमालेमा हुँदा नै राईले शेर्पाविरुद्ध पार्टीमा उजुरी पनि दिएका थिए ।
                    
		
                                        
                                                                                                
                    
		


		
		
		
		



