धरान: धरानमा बुधबार साँझ २ बर्षकी बालिकासहित ९ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमण पुष्टि भएकाहरु वडा नं ११ का एकै परिवारका ५ जना छन् भने वडा नं १२ का पनि एकै परिवारका ३ जना छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार वडा ११ को मकालु बस्तीस्थित प्रगति चोकका एकै घरमा ५ जनामा संक्रमण पुष्टि भएको छ । उक्त परिवारका ४७ बर्षीय पुरुष, ४७ बर्षीया महिला, २६ बर्षीय पुरुष, २२ बर्षीया महिला र १८ बर्षीया महिला छन् । यो परिवारका सदस्य वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन् ।

यस्तै, धरान १२ मा हिजो मंगलबार संक्रमण पुष्टि भएका एक पुरुषको कन्ट्याक ट्रेसिंगबाट स्वाब परिक्षण गर्दा उनकै परिवारका थप ३ जनामा पनि संक्रमण पुष्टि भएको छ । मेहताका अनुसार संक्रमित पुरुषका २७ बर्षीया श्रीमति, ६ बर्षीय छोरा र २ बर्षीया छोरीमा पनि कोरोना देखिएको छ । यसबाहेक एक जना धरान १८ का ३६ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनी मेडिकल सञ्चालक हुन् । संक्रमण पुष्टि भएका सबै होम आइसोलेसनमा छन् भने सबैको कन्ट्याक ट्रेसिंग गरेर शुक्रबार १२ बजे एन्फामा स्वाब संकलन गरिने पनि मेहताले जानकारी दिए ।