धरानः आज विश्वकर्मा पुजा । धातुजन्य वस्तुमा निर्मित मेसिन तथा पार्ट पुर्जाकाे विशेष पुजाअराधना गरि विश्वकर्मा भगवनालाइ सम्झिले प्रचलन रहेकाे छ । आजकाे दिन धरानकाे विश्वकर्मा मन्दिर लगाएत देशैभरका विश्वकर्मा मन्दिरमा सवारी साधनकाे पुजा गर्ने श्रदालुकाे घुँइचाे हुनेगर्छ ।

कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन्। विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ। 

यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढ्दै गएकाले सुरक्षित भएर दिवस मनाउनुपर्ने अवस्था छ। गत चैत ११ गतेदेखि नै धेरै कलकारखाना बन्द छन्। खुला भएकामा पनि थोरै जनशक्तिले मात्र भौतिक दूरी कायम गरी काम गरिरहेका छन्। आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन्।

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ। विश्वकर्माले निर्माण गरेको ‘भेद  द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको विश्वास गरिन्छ। विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ। ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रको ग्रन्थ उहाँले नै तयार पार्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।

यही सम्झनामा नेपालका कालीगढले आज विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्छन्। वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताका सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन्। पछिल्लो समय नेपालमा पनि वास्तुविद्याको पुनर्जागरण  भएको छ। चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुकै विषय उल्लेख गरिएको छ।