धरान: बिहिबार धरानको भानुचोकको माहोल अलिक बेग्लै थियो । लकडाउनले करिब ६ महिना सिथिल बनेको भानुचोकको चहलपहल अलिक बढी नै थियो ।

लामो दुरीका टिकट काउन्टर प्रायः सबै खुला नै थियो । जो कोही हिड्दै गरेका मानिसलाई कहाँसम्म जाने होला ? भनेर सोधिहाल्थे काउन्टरका कर्मचारी । ठुला सवारीसाधन नगन्य थिए भने टेम्पोको संख्या बढी थियो । यात्रुहरु भने फाट्ट फुट््ट मात्र देखिए । कोरोना महामारीको कारण गत चैत्र ११ गतेदेखि लकडाउनका कारण सार्वजनिक यातायात ठप्प भएको थियो । सरकारले आज (बिहिबार)देखि सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेको थियो । यो निर्णय भएपनि बिहिबार सवारीसाधनहरु खासै चलेनन् ।

असोज १ गते अर्थात विश्वकर्मा पुजा परेकाले सार्वजनिक यातायात नचलेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश १ संयोजक सरोज श्रेष्ठले बताए । ‘आज विश्वकर्मा पुजा हो । गाडीको पुजा गरिसकेपछि आज एक दिन गाडीलाई रेष्ट दिने प्रचलन छ । त्यही कारण धेरै जसो गाडी नचलाइएको हो,’संयोजक श्रेष्ठले भने,‘हामी भोली (शुक्रबार)देखि पूर्णरुपमा गाडीहरु सञ्चालनमा ल्याउछौं । त्यसको लागि हामीले सम्पूर्ण तयारी पूरा गरेका छौं ।’

gadi1

सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार सबै सामान तयारी अवस्थामा राखिएको अध्यक्ष श्रेष्ठले बताए । ‘हामीले यात्रुहरुको सुरक्षाका लागि तापक्रम नाप्ने थर्मल गन, स्यानिटाइजर सबै तयारी अवस्थामा राखेका छौं,’उनले भने,‘बसका कर्मचारीका लागि माक्स, पञ्जा, फेस सिल्डलगायत स्वास्थ्य सुरक्षाका लागि आवश्यक सम्पूर्ण सामान ।’ उनले मजदुरको सुरक्षा साथै याुत्रहरुको सुरक्षाप्रति आफुहरु जिम्मेवार रहेको बताउदै स्वास्थ्य सुरक्षाका लागि कुनै कसुर बाँकी नराखिएको दाबी गरे । ‘स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर यातायात सञ्चालन गर्न हामी प्रतिबद्ध छौं । त्यसको लागि सबैलाई ढुक्क रहन आग्रह गछौं,’उनले भने ।

लकडाउनका कारण लामो समय पछि आफ्नै कर्ममा फर्किन पाउँदा मजदुर पनि उत्साहित नै देखिन्थे । काकडभिटादेखी धरान यात्रु लिएर आएका चालक दोर्जे तामाङले यातायात सुचारु भएको यात्रुलाई जानकारी नभएको बताए । ‘डरले यात्रुहरु खासै निस्केको छैन । लामो समय पछि गाडी चल्यो तर धेरै यात्रुलाई थाहा नहुन सक्छ,’उनले भने,‘अब आउदो असोज ५ देखि चै यात्रु बढ्छ होला ।’ धरानदेखी इटहरी हिड्दै गरेकी स्नेहा लिम्बुले डर लागे पनि बाध्य भएर हिड्नु परेको बताइन् । ‘अब डर मानेर पनि के गर्नु ? बाध्य भएर हिड्नु परेको छ । तर, उहाँहरु (बसका कर्मचारी)ले स्यानिटाइजर गरेका छौं, डर मान्नु पदैन भन्नुभएको छ । त्यसैले खासै डर लागेको छैन,’उनले हास्दै जवाफ दिइन् ।

gadi2

यस्तै अर्का यात्रु पुकार कोइरालाले यस्तो विषम परिस्थतीमा पनि यातायात सञ्चालनमा ल्याउनु स्वागत योग्य रहेको बताए । उनले यात्रु आफै सचेत भएर सुरक्षित तरिकाले यात्रा गर्नुपर्ने प्रतिक्रिया दिए । ‘स्वास्थ्यको दृष्टिकोणले यात्रु आफै नै सचेत भएर हिड्नु पर्छ’ उनले भने ‘यस्तो विषम परिस्थितिमा यातायात सञ्चालन गर्नु मलाई स्वागत योग्य लागेको छ ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका सई एकराज खड्काले सुनसरीमा खासै सार्वजनिक यातायात सञ्चालनमा नआएको बताए । साना सवारी साधन ट्याम्पु सञ्चालन आएपनि ठुला सवारी खासै सञ्चालनमा नआएको बताए । ‘आज जिल्लाभरी ठुला सवारी खासै चलेनन् । यात्रुहरु पनि खासै देखिएन’ उनले भने ‘केही मात्रामा चलेका बसमा समेत यात्रु खासै देखिएन ।’ आफुहरुले मातहतका यूनिटहरुमा जेकजाँचलाई जारी अवस्थामा राखिरहेको समेत बताए ।