तालतलैयादेखि पानवारी हुँदै धरान साइकल यात्रा

  • प्रकाशित: आश्विन ३, २०७७ / 501 पटक पढिएको
  • उमेश भण्डारी
alt

एक्लै साइकल पेलेर धरान वरिपरिका डाँडाहरू सकिए सँगै यात्रालाई अब धरानदेखि समतल फाटतिर मोड्ने विचार गरियो । लगभग मैले धरानदेखि उत्तरमा बराहक्षेत्र र दक्षिणमा सेउती देखि पारि भेडेटार मुनिका सबै डाँडाहरू साइकलमा एकल यात्रा गरिसकेँ । 

पहिले कामाकाम अनि कामले गर्दा कहिले छुट्टी पाइएला भने झैँ लाग्थ्यो । अहिले कहिले अफिस खुल्ला झैँ लाग्छ । आखिर सब थोक मानिसको मनोदशा न रहेछ । उही हिजोको खोज र इच्छा भेटिएपछि , भेटेर केही समय बिताएपछि फेरी अर्को भोक, खोज र इच्छाको मृगतृष्णा हुन्छ । फेरी उही दौडधुप र फेरी उही रफ्तार अनि रफ्तार सँगको रस्साकस्सी ।  जिन्दगी रफ्तारमा बग्ने र बगेकै दौडधुपमा यस्तो अस्तव्यस्त भइएछ कि  लाग्छ ।   म रोकिए सँगसँगै यो घुमिरहने पृथ्वी पनि  रोकिए झैँ लाग्छ ।  हामी एक दिन त रोकिनु छ । तर लाग्छ समय अनुसार चल्नु र आजसँग पाइला मिलाउनु नै जीत हो । भोलि त आजको प्रतिफल न हो । 

भदौरे झरी मेघ गर्जन सहित बर्सी रहेछ । यसले हामीलाई तर्साएको हो कि कोरोनालाई  ? या आफ्नो आवेग आफैसङ छ  यसको ? भरियाको भोक, मजदुरको मुख र किसानको कमाइ सबैमा ताल्चा छ। यो वर्षाले पहिरो बाढी सँगसँगै कोरोना पनि लगिदिए कति राम्रो हुने थियो । कोरोनाको कहर झारिनै छ भने बिस्तारै हिजोको भयावह आज सामान्य लाग्दै छ । आखिर हरेक चिज आदत रहेछ । जे सँग जिउन सिक्यो त्यही चिज जिन्दगी ।  

बिहानीपख पानी अलिक लामो समय परेकाले यात्रा धरानबाट दिउँसो २ बजे मात्र सुरु गरियो । धरानबाट ४० मिनेटको ओरालो लागेपछि चारकोले झाडी जङ्गल काटेर तरहरा पुगियो । यो राजमार्ग विराटनगर देखि किमाथांका सम्म जोड्ने हेतुले सडक बिस्तारको लागि रुख काट्ने काम जङ्गलै  भरि भइरहेको छ। आशा छ काटेको भन्दा बढी रुख रोप्ने काम हुनेछ । उता तरहरामा संगै अध्यापन गराउनु हुने गुरु वीरेन्द्र गुठुराई सँगको आज पहिलो साइकल यात्रा भएकाले बडो हर्षित छु । धेरै अरू साथीहरू झैँ वीरेन्द्र सरले पनि लकडाउन कै समयमा साइकल किन्नु भएको छ । आजको यात्रा इटहरी नजिकै रहेको सिमसार क्षेत्र ताल तलैया छेउछाउ रहने छ ।  

-h4qHml4.jpg large

तरहरा कृषि फर्म हुँदै हामी पूर्व तिर लाग्यौँ ।  यो बाटो लग भग २० मिनेटको साइकल यात्रामा ताल तलैया पुग्न सकिन्छ । पुरानो शैलीका घरहरू र बिच बाटोमा प्रशस्त रूपमा भेटिए । बर पिपलको शीतल छहारीमा विश्राम लिनुको मज्जा नै बेग्लै छ । हामीले त्यो स्वर्गीय आनन्द लिन कत्ति पनि ढिला गरेनौँ । दुवै साइकल यात्री  गाउँलाई अलिक पर छोडेर जङ्गलै जङ्गल अघि लाग्यौँ । बिचबिचमा अलिक हिलो भए पनि साइकलको लागि राम्रो ट्रेल रहेछ । जमिन ओसिलो भएकाले जङ्गल भरि नै निगुरो देख्न पाइने रहेछ । ताल तलैया निस्किएर एक छिन थकाई मारियो । पार्क बाहिर नै फलैँचा र बस्ने व्यवस्था राम्रो मिलाइएको रहेछ । लकडाउनले गर्दा यहाँ भित्रको यात्रा गर्न सकिएन । तालबाट सिधै उत्तरतर्फ लागियो । धान खेतको मनमोहक दृश्य अवलोकन गर्दै सिमसार क्षेत्र बिस्तारै छोडियो र यात्रा खोर्साने खाप तिर अघि बढ्यो । 

खोर्सानेखापको झोलुङ्गे पुलमा एक छिन थकाई मारे पछि बस्तीको अवलोकन गरेर फेरी १ किमी जति फर्केर उत्तरतिर लागियो । खासमा आजको यात्रा ताल तलैया वरिपरि रहे पनि स्थानीयसङ सोधपुछ गर्दा पानवारि हुँदै धरान १ घण्टा जतिमा सजिलै पुग्न सकिने थाहा हुन आयो । तर यात्रा गर्दै जाँदा यो झन्डै २ घण्टाको जङ्गल यात्रा हुन पुग्यो । यात्रा गर्दा समय र दुरी भरसक १ जनालाई सोधेर अघि बढ्नु भन्दा २, ३ जनालाई सोधेर पक्का गरे धोका नहुने रहेछ । 

बिस्तारै साइकलमा वीरेन्द्र सरसँगै थकाई मार्दै फेरी चारकोसे झाडीको जङ्गल उकालो लगियो । सखुवाका रुखहरू र निगुरो घारी छिचोल्दै   झन्नै १ घण्टा जतिको यात्रा पछि पार नलाग्ने खोलो देखा पर्‍यो । अब फर्कौँ भने फेरी इटहरी झर्नु भन्दा धरान नै जानु नजिक झैँ लाग्छ । उकालो लागाँै भने तर्न नसकिने खोलो छ। केहिबेरको दोधार पछि वीरेन्द्र सरले पानवारि नै जाने निश्चित गर्नु भयो । म चाहिँ वहाँ साइकल चलाउन नयाँ हुनु भएकोले वहाँलाई सहज नहोला भन्ने सोचेथेँ । तर वहाँले मेरो पनि हिम्मत जुटाइदिनुभयो ।

यो सेउती खोला पारीको अधेरी खोला रहेछ । पारीबाट खोलाको बिचसम्म एउटा बुढो रुख लडेको छ । सायद यो रुख हुन्नथ्यो भने हामी खोला तर्न हिम्मत नै गर्ने थिएनौँ । आधि खोलो  जसोतसो तरे पछि दुई जना मिलेर पालैपालो एक एक गर्दै दुई वटा साइकल ढलेको रुख माथिबाट जसोतसो ४० मिनेट लगाएर तारियो । खोलो तर्दा त एउटा सानोतिनो युद्ध जिते झैँ अनुभव भयो ।  z1fvP_1j.jpg large

एक छिनको विश्राम पछि फेरी जङ्गलै जङ्गल उकालो लागियो । अब साँझ पनि बिस्तारै पर्दैछ । हामी पानवारि आउने आशामा निरन्तर रफ्तार बढाउँदैछाँै । अब आउँछ कि भनो आउँदैन । फेरी अगाडी बढ्यो । जोसका साथ जत्ति गरे पनि रात छिप्पिसको तर जङ्गल सकिएन । यो बाटो सायद त्यति धेरै प्रयोगमा नभएर होला बाटोको ४, ५ ठाउँमा रुख ढलेर बाटो छेकेको देखियो । साइकललाई जबरजस्त बोकेर बाटो काटियो कति ठाउँ । झरीको मौसम र खोला बढेको बेला यो बाटोमा आऊ जाऊ नहुने रहेछ । अलिक माथि नै पुगे पछि उल्टो बाटो गइएछ क्यारे, फेरी ठोकिएर खोलामै पुगियो । अब मोबाइलको बत्ती बालेर यात्रा अघि बढ्दै छ । जङ्गल नसकिने पो हो कि भन्ने डर पनि छ । भरसक जङ्गल सकिएर घर र बस्ती मात्र देख्न पाए पनि ढुक्क भइन्थ्यो भन्ने मनमा छ ।  

धन्न आज दुई जना छौँ । एक्लै भए त डर मर्दो हुने रहेछ ।  बल्लबल्ल ६ः३० तिर केही घर देखा परे । अनि आई पुगियो पानवारि । ठुलो सास फेरेर ५ मिनेट जति थकाई मारे पछि उकालो लागेर पानवारि हुँदै धरान पुगियो । झाम्मकै साँझ परेकाले पानवारिको भ्रमण गर्न मिलेन । मेरो चैँ साइकलको पाइडल बिग्रेर डोर्याउनुपर्यो । धन्न अलिक अन्तिम तिर मात्र बिग्रेकाले त्यति धेरै गाह्रो भएन  । नभए त समस्या नै पर्ने रहेछ । वीरेन्द्र सर भने तरहरा फेरी फर्कनु पर्ने भएकाले वहा टर्च लाइट बाल्दै फर्कनु भयो । म चाहिँ दिनभरिको थकान बोकेर आफ्नो घरतिर लागे ।  

आजको यात्रा एकदमै साहसिक रह्यो । एक्लै भएको भए सायद गर्न नसकिने यात्रा थियो यो । वीरेन्द्र सरको त झन् पहिलो लामो रुट, झन्नै ४० किमी जति थियो । आज झन्डै ६ घण्टाको यात्रा २ बजे सुरु गरेर ८ बजे टुङ्ग्याइयो । यो रुटमा हात्ती तथा अन्य जङ्गली जनावरको पनि आवतजावत हुने हुनाले अलिक सावधानी अपनाउनु पर्ने रहेछ ।

भदौ २२

छुटाउनुभयो कि ?

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2020 - क्लिक धरान - सर्वाधिकार सुरक्षित