धरान: धरान उपमहानगरपालिकाका योजना शाखाका एक इञ्जिनियरले पनि स्वाब परिक्षणको लागि दिएका दिए । उनको पिसिआर रिपोर्ट हिजो मंगलबार पोजेजेटिभ आयो ।

रिपोर्ट पोजेटिभ आउदा उनी कार्यालयमा नै काम गरिरहेका थिए । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार पोजेटिभ रिपोर्ट आएका ती इञ्जिनियरलाई हिजो नै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । ‘उहाँलाई हिजो नै वीपीमा पठायौं, र क्लोज कन्ट्याकमा भएकालाई क्वारेन्टिनमा पठाएका छौं,’मेहताले भने ।

ती इञ्जिनियरले भेटघाट गरेका काठमाण्डौंका एक साथीलाई संक्रमण भएपछि उनी आफैले स्वाब परिक्षण गराएका थिए । उनलाई हल्का टाउको दुख्ने, जिउ र घाटी दुख्ने गरेपछि आफैले शंका गरेर जाँच गराएका थिए । ‘लक्षण देखिएकोले मात्र अब स्वाब परिक्षण गर्नुपर्छ । स्वाब दिएपछि रिपोर्ट नआएसम्म होम क्वारेन्टिनमा नै बस्नुपर्छ,’मेहताले भने । संक्रमित इञ्जिनियरको कोठामा थप २ जना सँगै बस्ने गरेका थिए । उनीहरुलाई होटल क्वारेन्टिनमा पठाएको पनि मेहताले जानकारी दिए ।

योजना शाखाका प्रमुख एवं इञ्जिनियर सुरज श्रेष्ठका अनुसार संक्रमित इञ्जिनियर नयाँ भवनको माथिल्लो तलामा रहेको कार्यालयमा बस्ने गर्थे । त्यहाँ उनीसहित ७ जना बसेर काम गर्थे । ती मध्ये ३ जना ओभरसियर र ४ जना इञ्जिनियर थिए । ‘त्यहाँ नयाँ साथीहरु बसेर काम गर्नुहुन्थ्यो, त्यहाँ ७ जना हुनुहुन्थ्यो,’श्रेष्ठले भने,‘उहाँसँगै बसेर काम गर्ने ६ जना पनि क्वारेन्टिनमा बस्न भनेका छौं ।’