धरान: गत जेठ ७ गते धरानको वडा नं १३ मा पहिलो पटक एक महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता ४ महिनाको अन्तरालमा आजसम्म धरानमा कोरोना संक्रमितहरुको कुल संख्या ४ सय २९ पुगिसकेको छ ।

उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार कुल संख्यामा २ सय ८९ जना पुरुष छन् भने १४० जना महिला छन् । कुल संख्याको ६७.४ प्रतिशत पुरुष रहेको छ भने महिला ३२.६ प्रतिशत रहेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार संक्रमितहरु मध्ये समुदायस्तरका २ सय ३ जना रहेका छन्, जुन ४७.३ प्रतिशत हुन्छ । त्यसपछि बढी संख्यामा नेपाल आर्मीमा संक्रमण देखिएको छ । धरान १३ स्थित आर्मी क्याम्पमा रहेका र एन्फा क्वारेन्टिनमा सुरक्षामा खटिएका ९६ जनामा संक्रमण पुष्टि भएको छ । जुन प्रतिशतमा हेर्दा २२.४ प्रतिशत रहेको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

यस्तै, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारीहरु ६३ जना संक्रमण भएको छ । यो कुल संख्याको १४.७ प्रतिशत हो । विदेशबाट धरान आएका संक्रमण पुष्टि हुनेहरुको संख्या ४२ जना रहेका छन् । यो कुल संख्याको ९.८ प्रतिशत हो । यस्तै, धरानमा कार्यरत नेपाल प्रहरीका २५ जनामा पनि संक्रमण पुष्टि भएको छ, जुन ५.८ प्रतिशत हो ।

७ को मृत्यु, २८२ जना डिस्चार्ज

धरानका कुल संक्रमितहरु मध्ये अहिलेसम्म ७ जनाको मृत्यु भइसकेको छ । मृत्यु भएकाहरुमा वडा नं १७ का ३ जना छन् भने वडा नं १५ का २ जना, वडा नं ८ र ११ का एक एक जना रहेका छन् ।

स्वास्थ्य महाशाखाका अनुसार धरानमा अहिलेसम्म २ सय ८२ जना निको भइसकेका छन् । निको हुनेहरुमा २ सय ३४ जना अस्पतालबाट उपचार पश्चात निको भएका हुन् भने ४८ जना संक्रमित होम आइसोलेसनमा बसेर नै कोरोनाबाट मुक्त भएका हुन् । बाँकी १ सय ४७ जना सक्रमित व्यक्तिहरु अस्पताल र होम आइसोलेसनमा छन् । ती मध्ये ५६ जना अस्पतालमा छन् भने ८४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य महाशाखाले जानकारी दिएका छ ।

२१ देखि ४० बर्षका संक्रमित धेरै

swab-collect

एन्फा एकेडेमी क्वारेन्टिनमा स्वाब संकलन गरिदै । फाइल तस्बिर ।

धरानका संक्रमितहरुमा सबैभन्दा बढी २१ देखि ४० बर्ष उमेर समुहका देखिएको छ । कुल संक्रमितहरु मध्ये २ सय ७७ जना यो उमेर समुहका छन् । जुन ६४.६५ प्रतिशत हो । त्यसपछि, ४१ देखि ६० बर्ष उमेर समुहका ८० जनामा सँंक्रमण पुष्टि भएको छ, जुन १८.६४ प्रतिशत हुन आउछ । यसैगरि, २० बर्षसम्मका संक्रमितहरुको संख्या ४२ जना छ, जुन ९.८७ प्रतिशत हो भने ६० बर्ष माथिका संक्रमितहरुको संख्या २९ जना रहेको छ । यो ६.८४ प्रतिशत हुन आउछ ।

वडागतरुपमा १३ मा सबैभन्दा बढी, वडा २० मा एक जना पछि पोजेटिभ छैन

धरान उपमहानगरपालिकामा वडागत संक्रमितहरुको संख्या हेर्दा सबैभन्दा बढी वडा नं १३ मा देखिन्छ । स्वास्थ्य महाशाखाका अनुसार हालसम्म वडा १३ मा १ सय ६ जना संक्रमित पुष्टि भएको छ । तर, यो वडामा धेरै संक्रमित संख्या देखिनुमा फुस्रेस्थित नेपाल आर्मी, सशस्त्र प्रहरीको क्याम्प र संघीय प्रहरी इकाई कार्यालय भएर पनि हो । वडा १३ मा संक्रमण पुष्टि भएको १०६ जनामा नेपाली सेना र संघीय प्रहरीका संक्रमितहरुको पनि संख्या समेटिएको स्वास्थ्य महशाखा प्रमुख मेहताले बताए ।

दोस्रो धेरै संख्या भएको वडा १८ रहेको छ । उक्त वडामा ६९ जना संक्रमित भेटिएका छन् । तर, यो वडामा धेरै देखिनुमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भएर हो । अहिलेसम्म एक जना पनि संक्रमित नभएको धरानको वडा २० मात्र छ । हालसम्म धरानमा ४ हजार २ सय १ जनाको स्वाब संकलन भइसक्दा पनि वडा नं २० मा एक जना पनि संक्रमित पुष्टि भएको छैन ।

4 1 5 6 1