धरान: सुकेको रुखको हाँगाले लागेर गम्भीर घाइते भएकी धरान १४ की नाबालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।

धरान १४, दुई धारेमा आज मध्याह्न सुकेको रुखको हाँगा खसेर एकै परिवारका आमा र २ छोरीहरु घाइते भएका थिए । तीन जना मध्ये गम्भीर घाइते भएकी ३ बर्षीया एबिसा राईको उपचारको क्रममा न्युरो हस्पिटल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । घाइते आमा विष्णु राईको अवस्था सामान्य छ भने जेठी छोरी नेबिसा राईको पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

मृतक एबिसालाई पनि उपचारको लागि वीपीको बाल आकस्मिक कक्षमा लगिएको थियो । त्यहाँ भेन्टिलेटरसहित पिआइसियु नपाए पछि थप उपचारको लागि विराटनगर रिफर गरिएको थियो । गम्भीर घाइते भएकी एबिसालाई टाउकोमा गहिरो चोट लागेको थियो । दन्तकाली मन्दिरतिरबाट घर फर्कदै गर्दा अचानक २ धारेमा रुखको हाँगा खसेर उनीहरुलाई लागेको थियो । यो घटना पछि वडा कार्यालयले विजयपुर चोक–दुई धारे–सिंहदेवी बाटोमा आवतजावत नगर्न आग्रह गरेको छ । उक्त बाटोमा सुकेको रुखको हाँगा अझै खस्ने जोखिम भएकोले हिडडुल नगर्न आग्रह गरिएको वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।