धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक जना कानेपोखरी १ मोरङका ५५ बर्षीय पुरुष छन् भने अर्का प्रदेश नं २ को सप्तरी जिल्लाका ७० बर्षीय पुरुष छन् । प्रतिष्ठानका अनुसार राजविराज ३ सप्तरीका ७० बर्षीय पुरुषको हिजो राती ११ बजे मृत्यु भएको हो । उनलाई भदौ २८ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । ज्वरो, खोकी, श्वासप्रश्वास र निमोनिया भएपछि उनलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराजले वीपीमा रिफर गरिदिएको थियो ।

यस्तै, मोरङ कानेपोखरीका ५५ बर्षीयको हिजो साँझ ८ बजे निधन भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनी आन्द्राको क्यान्सर भएर सल्यक्रिया भएको र शरीरको अन्य भागमा पनि फैलिएको अवस्थामा आइसियुमा उपचाररत थिए । पिसिआर पोजेटिभ भएपछि उनी कोभिड अस्पतालमा भर्ना भएका थिए । योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने संक्रमितहरुको संख्या ३३ पुगेको पनि प्रतिष्ठानले जनाएको छ ।