सुनसरीः सुनसरीको बराहक्षेत्रका विद्यालयहरु खुल्ने तरखरमा रहेका छन् । लामो समय देखि बन्द भएका विद्यालयमा सरसफाइ देखि पढाइको व्यवस्थापन समेतको तयारी थालिएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिकाले आफ्नो नगर भित्रका विद्यालयलाई पढाइको तयारीका लागि विभिन्न चरणको छलफल अन्तिम चरणमा पुुर्याएको बताएको छ । विद्यालय व्यवस्थापन समिति, अभिभावक देखि शिक्षक समेतको राय लिएर नगर शिक्षा समितिले विद्यालय चलाउने तयारी थालेको शिक्षा शाखा प्रमुख डिल्लिराम अधिकारीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा ठुला कक्षाका विद्यार्थी राखेर पढाइ शुरु गर्ने तयारी गरेको छ भने त्यसको व्यवस्थापनका लागि प्रधानाध्यापकलाई तालिम दिइसकिएको छ ।

नगरले शैक्षिक सत्र खेर जन नदिने दशैँ अधि नै पढाइ शुरु गर्ने तयारी गरेको हो । त्यसका लागि हरेक विद्यालयलाई कक्षा सँचालनको विधि पठाउन आग्रह गरेको छ भने स्वास्थ्य सजकता अपनाएर पठनपाठन शुरु गर्न अनुमती दिएको छ । विद्यालयले समेत विगत ७ महिनादेखि बन्द भएका भौतिक सँरचनाको अवस्था एकिन गरि सरसफाइ र बसाइको व्यवस्थानलाई तीव्रता दिएको छ । बराहक्षेत्र ८ सालबनीको जनक माध्यमित विद्यालयका निमित्त प्रधानाध्यापक तेजप्रसाद भट्टराईले कक्षा ९ र १० का विद्यार्थीलाई पहिलो चरणमा दुइ सिफ्टमा पढाइ सुचारु गर्ने जानकारी दिए । उनले शिक्षकको साथ रहेको भन्दै विद्यार्थी समेत मनोवैज्ञानिक रुपमा पढ्न तयार रहेको जानकारी दिए ।

baraha kshetra-education-clickdharan (1)

कोरोना त्रासका बीच सिकाइ सहजिकरणका लागि भौतिक उपस्थिति चुनौतीपुर्ण भएपनि अब विद्यालयबाटै पढाइ शुरु गर्नुुको विकल्प नभएको बराहक्षेत्र ९ राजावासको विद्यालय सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केसव प्रसाद तिम्सिनाले बताए । उनले सिकाइका अनेक विधि भएपनि लामो समय देखि बन्द रहेको विद्यालयबाटै सुरक्षित तवरले पढाइ शुरुगर्नुपर्ने बताएका छन् ।

बराहक्षेत्रका सबै विद्यालयलाई नगरपालिकाले रुम सेनिटाइज गर्ने मेसिन हस्ताण्तरण गरेको छ भने विभिन्न तहमा स्वास्थ्य सजकताका उपाय अबलम्वन गर्ने तालिम दिइसकेको छ। विपतको बेला विद्यालयमा सुरक्षित शिक्षणविधिका लागि फरवार्ड नेपाल, प्लान नेपाल लगाएतका दातृ सँस्थाको साझेदारीमा कोभिड अवधि पछिको पढाइलाई सुरक्षित र प्रभावकारी बनाउने नगरको तयारी रहेको छ । बराहक्षेत्र नगर भित्र मात्रै ५२ सामुदायिक, ३१ सँस्थागत र ५ धार्मिक विद्यालयहरु रहेका छन् ।