धरान: धरानको वडा नं ६ स्थित पाथिल्लो पानवारीबाट मोरङको केराबारीस्थित राजारानी पुग्ने बाटोको पिच निर्माण कार्य शिलान्यास गरिएको छ ।
धरान ६ पाँचकन्या मार्गको किरात चोकबाट केराबारी ५ राजारानी पुग्ने बाटोको आज प्रदेश १ का सभामुख प्रदिप भण्डारीले शिलान्यास गरेका हुन् । यो बाटो १७५५ मिटर लामो रहेको छ । प्रदेश सरकारको बजेटबाट पिच निर्माण हुन लागेको हो । यसको बजेट १ करोड १८ लाख ५३ हजार ८४८ रुपैया रहेको छ ।
पिच निर्माणको शिलान्यास गर्दै सभामुख भण्डारीले जनताको प्रत्यक्ष सहभागिता र सहकार्य भएमा मात्र गुणस्तरीय काम हुने र उपलब्धी पनि हासिल हुने बताए । विकास निर्माणमा जनताले निरन्तर समन्य र चासो दिन पनि उनले आग्रह गरे । ‘बजेट विनियोजन भएर विकासको कार्य अघि बढीरहदा जनताको प्रत्यक्ष सहकार्य भए मात्र गुणस्तरीय काम हुन्छ, र उपलब्धी पनि त्यही अनुसार हुन्छ,’सभामुख भण्डारीले भने,‘जनताको निरन्तर समन्वय, चासो हुनुपर्छ । म यहाँ पनि त्यही अपेक्षा गर्छु ।’ सभामुख भण्डारीले आफु यही निर्वाचन क्षेत्रबाट निवार्चित भएकोले सधै जनताको साथमा हुने पनि बताए ।
यो बाटो पिच निर्माण गर्न धरान १५ को पुजा निर्माण सेवाले ठेक्का पाएको छ । बाटो पिच गर्ने सम्झौता गत असार २३ गते भएको थियो । कम्पनीले ०७८ जेठ २३ गतेभित्र पिच निर्माण सम्पन्न गर्नुपर्नेछ । सडकको चौडाई ३.७५ मिटर (करिब १३ फिट) हुने वडा नं ६ का अध्यक्ष भुवनसिं बस्नेतले जानकारी दिए । उनका अनुसार यो सडक केराबारी ५ को राजारानी-लामिछाने भन्ने ठाउँसम्म पुग्नेछ । अहिले कच्ची बाटो छ ।
लामिछाने भन्ने ठाउँ मगरहरुको घना बस्ती भएको ठाउँ हो । त्यहाँ होम स्टेको अवधारणा अघि बढाइएको छ । ‘त्यहाँ होमस्टे बनाउने प्रयसा भइरहेको छ, यो पक्की सडकले पर्यटनको विकास हुन्छ भन्ने अपेक्षा लिएका छौं,’धरान वडा नं ६ का अध्यक्ष बस्नेतले भने । उनका अनुसार अहिले धरानबाट ठिंगाबारी, साउने हुदै सेहरा खोलाको झोलुंगे पुल तरेर राजारानी, लामिछाने ठाउँसम्म पदयात्रीहरु पुग्ने गरेका छन् ।