विराटनगर: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विद्यालय शिक्षा सुधारका लागि प्रविधिमैत्री शिक्षण सिकाई आवश्यक भएको बताएका छन् ।

सामाजिक विकास मन्त्रालय र स्थानीय तहको साँझेदारीमा सञ्चालित सूचना प्रविधि सम्बन्धी अनलाईन शिक्षक तालिमको आज शुभारम्भ गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । विद्यालय, शिक्षक, विद्यार्थीसँगै समाजलाई प्रविधिमैत्री बनाउने अभियानको शुरुवात प्रदेश सरकारले गरिसकेको उनको भनाई छ । प्रदेश सरकारले डिजिटल प्रदेशको यात्रा शुरु गरिसकेको बताउँदै उनले भने, शिक्षालाई सूचना प्रविधिसँग जोड्न आवश्यक छ ।’ डिजिटल प्रदेशका लागि नीति तथा कार्यक्रम बनिसकेको मुख्यमन्त्री राईले बताए ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले १० बर्षभित्रमा प्रदेशबाट किताव र झोलामुक्त गरिने लक्ष्य अनुसार काम भईरहेको बताए । कोरोनाका कारण १० बर्ष भित्रको लक्ष्य ३ बर्ष भित्रमा पुरा हुने देखिएको उनले बताए । कोरोनाका कारण अहिले अनलाईन शिक्षण विधि शुरु भईसकेको बताउँदै उनले किताव र झोलामुक्त प्रदेश चाँडै हुने दावी गरे । पहिलो चरणमा ६ बटा स्थानीय तहका ६ सय शिक्षकलाई तालिम शुरु गरिएपनि दसैं अगावै ३० वटा स्थानीय तहका ३ हजार शिक्षकलाई सूचना प्रविधि संवन्धि तालिम दिईने मन्त्री घिमिरेको भनाई छ ।

jiban-ghimire

तीन हजार शिक्षकले सूचना प्रविधिको तालिम लिईसकेपछि चेतना, प्रविधि र सीपको भेल आउने उनले बताए । समाज प्रविधिप्रति आकर्षित बन्दै गएको मन्त्री घिमिरेको भनाई छ । उनले भने,‘ विद्यालयमा तन्नाले छोपेर कम्प्युटर राख्ने अवस्थाको अन्त्य हुने छ ।’ सामाजिक विकास मन्त्री घिमिरेले आगामी दिनमा कठोर लकडाउनको अवस्था नभएकाले कोरोनासँग जुध्दै अघि बढ्नुपर्ने समय आएको बताए ।

कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, सामाजिक विकास संसदीय समिति सभापति सरिता थापा, इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की लगायतले प्रविधि अनलाईन तालिमले शिक्षक सिकाईमा महत्वपूर्ण उपलब्धि हुने बताए । सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि क्षमता विकास तालिममा विभिन्न पालिकाहरुबाट ६ सय शिक्षकहरुको सहभागिता रहेको मन्त्रालयले जनाएको छ ।