धरान: नयाँ आर्थिक बर्ष शुरु भएपछि पहिलो चौमासिक सकिन लाग्दा पनि कार्यपालिका बैठक नबोलाएको भन्दै धरान उपमहानगरपालिकाका वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले तत्काल बैठक बोलाउन माग गर्दै पत्र बुझाएका छन् ।

बैठकले दररेट कायम गर्नेलगायतका महत्वपुर्ण एजेण्डाहरुमा निर्णय नगर्दा विकास निर्माणलगायत अन्य गतिविधिहरु ठप्प भएको भन्दै कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुले आज पत्र बुझाएका हुन् । यसरी पत्र बुझाउने वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु नेकपाबाट निवार्चित हुन् । मेयर राईले कार्यपालिका बैठक नबोलाएर समग्र नगरलाई अनिर्णयको बन्दी बनाएको नेकपाबाट निवार्चित अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको आरोप छ ।

मेयर राईलाई पत्र बुझाएको पत्रमा बैठकमा राख्नुपर्ने महत्वपुर्ण एजेण्डाहरु पनि प्रस्तावकोरुपमा उल्लेख गरेका छन् । कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुका अनुसार कार्यपालिका बैठक नबस्दा चालु आर्थिक बर्षको बजेट कार्यान्वयनमा नै समस्या सृर्जना भएको छ । पहिलो चौमासिक बित्न लाग्दा तलब निकासाबाहेक अन्य बजेटबाट कुनै पनि काम हुन नसकेको अध्यक्षहरुको भनाई छ ।

वडा नं १६ का अध्यक्ष दिलकुमार गिरीका अनुसार यसअघि २ पटक कार्यपालिका बैठक बसिए पनि कोरोना र लकडाउनको बिषयमा मात्र बैठक भएको थियो । ती बैठकहरुमा अन्य एजेण्डाहरु नै नभएको उनले बताए । तर, पहिलो चौमासिक सकिन लाग्दा पनि दररेट कायम गर्ने, नीति तथा कार्यक्रम प्रमाणिकरण गर्ने, विनियोजन ऐनलगायत महत्वपुर्ण बिषयमा छलफल नहुँदा विकास निर्माणलगायतका गतिविधिहरु ठप्प भएको उनको भनाई छ ।

‘दररेट कायम नहुदा कुन सामान कतिमा खरिद गर्ने भन्ने अन्योल छ, यसले गर्दा प्राविधिकहरुले कुनै पनि भौतिक संरचना बनाउनको लागि स्टिमेट नै गर्न सक्दैनन् । कार्यपालिका बैठकले सिमेन्ट, ढुंगा, रड, गिट्टी, बालुवालगायत कतिमा किन्ने भनेर दररेट तोक्नुपर्ने छ,’वडा १६ का अध्यक्ष गिरीले भने,‘तलबबाहेक अन्य बजेट चलेको छैन, कामहरु सबै ठप्प छ ।’

धरान १७ का अध्यक्ष मनोज भट्टराईले मेयर राईले उपमहानगरपालिकालाई अनिर्णयको बन्दी बनाएको प्रतिक्रिया दिए । ‘म अल्पमतमा छुँ, र मलाई केही गर्न दिएन भन्ने भ्रम जनतामा छर्ने र सबै काम ठप्प पारेर अनिर्णयको बन्दी बनाउने मेयरको उद्देश्य देखिन्छ,’उनले भने,‘यो ठिक भइरहेको छैन ।’

मेयर भन्छन्,'बोलाउनै पर्ने एजेण्डा भए बोलाउछुँ'

मेयर राईले अध्यक्ष र कार्यपालिका सदस्यहरुले पत्र बुझाए पनि आफुले हेरिनसकेको प्रतिक्रिया दिए । तत्काल सर्वपक्षीय बैठकमा बस्नुपरेको भन्दै उनले बैठक बस्नुपर्ने बिषय वा एजेण्डा भए बैठक बोलाउन समस्या नभएको बताए । ‘तत्काल बस्नुपर्ने बिषय छ भने बैठक बस्नुपर्छ, तर कोरोनाको महामारी छ । कर्मचारी, जनप्रतिनिधिहरु सबैलाई संक्रमण भइरहेकोले कसरी बस्ने ? भन्ने पनि समस्या छ,’उनले भने,‘तर बैठक नबसि नहुने बिषय छ भने छलफल गछौं ।‘