धरान: धरान ११ की सुनिहाङ्मा लिम्बुको रहस्यमय मृत्यु प्रकरणमा पक्राउ परेका उनका ससुरासहित ४ जना धरौटी बुझाएर तारेखमा रिहा भएका छन् ।

जिल्ला अदालत सुनसरीमा थुनछेक बहस सकिएपछि आज ५ नम्बर इजालशका न्यायाधिश प्रकाश श्रेष्ठको आदेश अनुसार उनीहरु धरौटी बुझाएर तारेखमा रिहा भएका हुन् । न्यायाधिश श्रेष्ठको इजलाशबाट जनही एक लाख ५० हजार धरौटी बुझाएर तारेखमा छोड्न आदेश भएको थियो । ‘माननीय न्यायाधिशको इजलाशबाट जनही एक लाख ५० हजार धरौटी लिएर तारेखमा छोड्ने आदशे आएकोले सोही वमोजिम छुट्नु भयो,’जिल्ला सरकारी वकिल गोकुल निरौलाले भने ।

मृतकको माइती पक्षको जाहेरी पछि सुनिहांगमाको ६१ बर्षीय ससुरा भीम माबो, आमाजू २८ वर्षीया सन्जु माबो, २५ वर्षीया विमला माबो र हेमकुमार माबोलाई प्रहरीले अनुसन्धानको लागि पक्राउ गरेको थियो । माइती पक्षले हत्या आशंकामा जाहेरी दिएपनि चारै जनामाथि आत्महत्या दुरुत्साहन मुद्दाको अभियोग दर्ता भएको थियो । सोही मुद्दाको छुनथेक बहस आज दिउँसो करिब २ बजेतिर सकिएको थियो । प्रतिवादीहरुको वायन पछि हिजोदेखि छुनथेक बहस शुरु भएको थियो । जाहेरवालाकोतर्फबाट सरकारी वकिल गोकुल निरौल, अनन्तराज न्यौपानेले बहस गरेका थिए भने जाहेरवालाहरुले राखेका थप ३ जना वकिलहरु सुमनचन्द्र कार्की, विरेन्द्र बस्नेत र शिवराज चौहानले पनि बहस गरेका थिए । प्रतिवादीहरुकोतर्फबाट ६ जना वकिलहरुले बहस गरेका थिए ।

गत भदौ २२ गते बिहान सुनिहाङ्माले आफ्नै कोठाको पंखामा सलले पाशो लगाएर आत्महत्या गरेकी थिइन् । प्रहरी र जनप्रतिनिधि घरमा पुग्दा सुनिहाङ्माको शव खाटमा राखिएको अवस्थामा भेटिएको थियो । परिवारका अनुसार उनको देवर र छिमेकी एक युवतीले ज्यान बचाउने उद्देश्यले पाशोबाट झिके पनि मृत्यु भइसकेकोले अस्पताल नलगी खाटमा राखिएको थियो । तर, माइती पक्षले भने हत्या आशंका भन्दै प्रहरीमा जाहेरी दिएपछि ससुरासहित ४ जना पक्राउ परेका थिए । प्रहरी अनुसन्धान र पोष्टमार्टम रिपोर्ट अनुसार हत्या पुष्टि नहुने भन्दै सरकारी वकिलको कार्यालयले पक्राउ परेकाहरुविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अदालतमा अभियोग दर्ता गराएको थियो । पोष्टमार्टम र भिसेरा रिपोर्टले पनि मृत्युको कारण झुण्डिएर नै भएको भन्ने आएपछि आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको थियो । सिंगापुरे लाहुरे आइत माबोसँग विवाह गरेको ३ महिनामै सुनिहांगमाले आत्महत्या गरेकी थिइन् ।