धरान: झुण्डिएर आत्महत्या गरेकी धरान ११ की सुनिहाङ्मा लिम्बुका ससुरा भिम माबोले आफुहरु अझै पनि सत्यतथ्य छानबिनको पक्षमा रहेको बताएका छन् ।

माबो र मुजोतलुङ थाकथाकु माबोहाङका अध्यक्ष धनबहादुर माबोले आज शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् । अदालतको आदेशबाट धरौटीमा हिरासत मुक्त भएपछि सुनिहाङ्माको परिवारले पहिलो पटक औपचारिकरुपमा विज्ञप्ती मार्फत प्रतिक्रिया दिएका हुन् । विज्ञप्तीमा बुहारी सुनिहाङ्माले किन आत्महत्या गरिन् भन्ने प्रश्न अनुत्तरित रहेको भएपनि छोरा(सुनिहाङ्माका श्रीमान्) आइत माबोको फेसबुक आइडी अरु कसैले लगइन गरेर नग्न तस्बिर मागेर ब्लाकमेल गरेको कारण आत्महत्या गर्न बाध्य भएको उल्लेख गरिएको छ । यो बिषयमा सुनिहाङ्माको मामाले सल्लाहमा सिंगापुरमा निवेनद दिएको पनि विज्ञप्तीमा उल्लेख छ ।

बुहारीको माइती पक्षले आफुहरुविरुत कर्तव्य ज्यान मुद्दा दायर गरेको र आफुहरुले वास्तविकता बाहिर आउछ भन्ने उद्देश्यले सहयोग गरेको पनि विज्ञप्तीमा उल्लेख छ । तर, आफुहरुविरुद्ध निरन्तर गलत आरोप र कुप्रचार गर्ने कार्य नरोकिएको पनि बताइएको छ । घटनाको बेला आ आफ्नो घरमा भएका आमाजुहरु सञ्जु माबो र विमला माबोले पनि दुधे बालक छोडेर २८ दिनसम्म प्रहरी हिरासतमा बसेर अनुसन्धानमा सहयोग गरेको विज्ञप्तीमा उल्लेख छ । ‘माइतीकै चाहना अनुरुप उनीहरु प्रहरी कष्टडीमा बसेका थिए तर दुधे बच्च र कोडिभ १९ लाग्दा समेत मानवीय संवेदना देखिएन, यसलाई हामीले अन्या लिएका छैनौं,’विज्ञप्तीमा भनिएको छ,‘हामी पनि हाम्री बुहारीको मृत्युको वास्तविकता छानबिनको पक्षमा छौं तर माइती पक्ष हामी माथि एकोहोरो लागिराख्नु भयो ।’

सोसल मिडिया प्रयोग गरेर गरिएको गलत प्रचारबाजीले बुहारीको चरित्रमाथि प्रश्न उठाउने कार्य भएको र यसले आफुहरुलाई मर्माहत बनाएको परिवारजनले बताएका छन् । ‘सम्पुर्ण मावो परिवारकै इज्जत, प्रतिष्ठानमाथि दाग लाग्नुका साथै शिर ढलेको महसुस भएको छ, अन्त्यमा बुहारी सुनिहाङ्माको न्यायका निम्ति हामी अझै पनि लागि परेका छौं,’विज्ञप्तीमा भनिएको छ ।

गत भदौ २२ गते सुनिहाङ्माले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी थिइन् । प्रहरी घरमा पुग्दा शव खाटमा झारिसकेकोले माइती पक्षले आशंका गर्दै कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए । प्रहरीले ससुरास, देवर र २ जना आमाजु पक्राउ गरेको थियो । अनुसन्धान तथा पोष्टमार्टम रिपोर्ट र भिसेर रिपोर्टको आधारमा सरकारी वकिलले आत्महत्या दुरुत्साहन मुद्दा दायर गरेको थियो भने अदालतले जनही १ लाख ५० हजार धरौटीमा चारै जनालाई रिहा गर्न आदेश दिएपछि उनीहरु रिहा भएका थिए ।

soni-press soni-report