धरान: निजी तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई राहत वितरण गरिएको छ ।

धरान उप–महानगरपालिका भित्र संचालनमा रहेका निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई राहत वितरण गरिएको हो । पदम मेमोरियल बोर्डिङ स्कुलकी सहायक प्रिन्सिपल पुष्पा फोम्बोको पहलमा आज शुक्रबार ८२ जनालाई राहत वितरण गरिएको हो ।

कोरोना भाईरसको संक्रमणले गर्दा विद्यालयहरु बन्द हुँदा शिक्षक तथा कर्मचारीहरुले नियमित तलब पाउन सकेको छैनन् । तलब नपाएर समस्यामा परेका शिक्षक तथा कर्मचारीहरुको लागि राहत स्वरुप रकम संकलन गरेर राहत वितरण गरिएको पहलकर्ता फोम्बोले बताईन् । उनका अनुसार आफुसँगै बेलायतमा रहेका आफन्त र साथीभाईहरुलाई अनुरोध गरेर २ लाख रकम संकलन भएको थियो । सोही रकमबाट समस्यामा परेका शिक्षक कर्मचारीहरुलाई राहत वितरण गरिएको उनले जानकारी दिइन् ।

निजी विद्यालयमा काम गर्ने शिक्षक तथा कर्मचारीहरुलाई २५ केजी चामल, ३ लिटर तेल, २ केजी दाल, ३ केजी चिउरा, दुई दर्जन विस्कुट वितरण गरिएको छ । महामारीको बेलामा भएको सहयोगले केही मात्रा भएपनि राहत मिलेको इष्टु सुनसरीका सचिव शम्भु रेग्मीले बताए ।