धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा जडान भएका नयाँ भेन्टिलेटरहरु बिग्रिएको र सिकिस्त संक्रमितहरुले उपचारबाट बञ्चित हुनु परेको बिषयमा नेकपा धरानले तत्काल सेवा, सुविधा सुधार गर्न प्रतिष्ठानलाई दबाब दिएको छ ।

नेकपा नेताहरुको एक टोलीले अस्पतला निर्देशक प्रा.डा.गौरीशंकर साह, सहायक अस्पताल निर्देश डा.प्रमोद वराललगायतलाई भेटेर चाडो सेवा सुविधामा सुधार गर्न दबाब दिएको हो । प्रतिष्ठानले कोभिड अस्पतालमा जडान गरेको ९ वटा नयाँ भेन्टिलेटरमध्ये हाल २ वटा मात्र सञ्चालनमा रहेको छ । जसले गर्दा गम्भीर अवस्थामा संक्रमित विरामीहरुले ज्यान गुमाउन बाध्य भइरहेका छन् । आज(आईतबार) नेकपाका धरान नगर ईन्चार्ज चोत्लङको नेतृत्वमा गएको टोलीले नयाँ भेन्टिलेटरहरु बिग्रिनुको कारण र तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन नसक्नुको कारण पनि छानबिन गर्न माग गरेको छ ।

इञ्चार्ज चोत्लुङका अनुसार कोभिड अस्पतालको एक सय बेडमध्ये २५ बेडमा मात्र अक्सिजन जडान गरिएको छ । नेकपा टोलीले आइसोलेसनको सम्पुर्ण बेडमा जडान गर्न, कोभिड अस्पतालमा नै सिटिस्क्यानलगायतको व्यवस्थापन गर्न पनि दबाब दिइएको उनले बताए । ‘कोभिडका विरामीहरुलाई खाना र हेरचाहमा लापरवाही पनि भएको गुनासो व्यापक आएकोले तत्काल सुधार हुुनुपर्छ, ओपिडीमा अत्यधिक भिडभाड भएकोले संक्रमणको जोखिम बढ्यो, अनलाइन टिकेटिङ सिस्टम व्यवस्था गर्नुपर्छ भनेर दबाब र सुझावहरु दिएका छौं,’चेत्लुङले भने,‘प्रतिष्ठानको समस्या समाधान गर्न पार्टीको तर्फबाट गर्न सकिने भुमिका र सहयोगबारे पनि छलफल गरेर सुझावहरु दिएका छौं ।’

नेकपाका नगर ईन्चार्ज चोत्लङसँगै नगर सचिव सुर्दशन श्रेष्ठ, कार्यालय सदस्य मनोज भटटराई, सचिवालय सदस्य हिमाल लिम्बु, उद्धव लिम्बुलगायत प्रतिष्ठान गएका थिए । अस्पताल निर्देशक डा.साहले कोभिड अस्पतलाको भेन्टिलेटर तत्काल मर्मत गर्ने काम भइरुहेको बताएका थिए । साथै, सबै बेडहरुमा अक्सिजन जडान गर्न, र ओपिडीको भिडलाई व्यवस्थित गर्न पहल गर्ने प्रतिवद्धतता जनाएको सचिव सुर्दशन श्रेष्ठले जानकारी दिए । ‘बिरामीहरुको खानपान र हेरचाहमा भएको कमीकमजोरीलाई तत्काल सुधार गर्ने पनि भन्नु भएको छ,’उनले भने,‘कोरोना संक्रमितको संख्या अझै बढ्दै गएमा अस्पतालको पुर्वाधार र जनशक्तिले धान्न गाह्रो हुने भएकोले स्थानीय सरकार, प्रदेश सरकारले निश्चित समयको लागी लकडाउनलगायत अन्य उपाय अपनाउन आवश्यक भएको पनि उहाँहरुको कुरा थियो ।’