धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा जडान गरिएको अधिकांश भेन्टिलेटर बिग्रेको छ ।

संघीय सरकारले उपलब्ध गराएको करोडौं बजेट खर्चेर खरिद गरिएको नयाँ भेन्टिलेटरहरु कोभिड अस्पताल सञ्चालनमा आएको केही महिनामै बिग्रेको हो । गत बैशाखमा उद्घाटन गरिएको कोभिड अस्पताल झण्डै ४ महिना पछि मात्र साउन अन्तिमदेखि सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको ३ महिना पनि नपुग्दै नयाँ भेन्टिलेटरहरु बिग्रिएर थन्किए पछि घोटाला भएको आशंका गरिएको छ । प्रक्रिया मिचेर सिधै व्यापारीसँगको मिलेमतोमा भेन्टिलेटर खरिद गरिएकोले कमसल र पुरानो सामग्रीहरु जडान गरेर अनियमितता गरेको आरोप लाग्दै आएको छ । उपकुलपतिका प्रशासनिक सल्लाहकार पनि भनिएका स्वकिय सचिव दिलिप भट्टराई माथि व्यापारीसँग मिलेमतोको आरोप छ ।

प्रतिष्ठान स्रोतका अनुसार कोभिड अस्पतालमा १० बेड आइसियु छ । त्यसमा ९ वटा भेन्टिलेटर जडान छ । जसमा ३ वटा सस्पेक्ट एरियामा र एउटा पेडियाट्रिक भेन्टिलेटर छ । ती मध्ये ५ वटा भेन्टिलेटर बिग्रेर थन्किएको छ । ‘जम्मा ९ वटा भेन्टिलेटर हो । ५ वटा बिग्रेको थियो, हिजो मात्र बनाउन लगेको छ,’स्रोतले भन्यो,‘मिलेमतो र कमिशनमा किनिएकोले यो हालत भयो ।’

भेन्टिलेटर नपाएर मृत्यु

निमोनिया भएर प्रतिष्ठानमा उपचारको लागि लगिएका धरान ८ का एक युवालाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई तत्काल भेन्टिलेटरसहितको आइसियु आवश्यक थियो । तर, कोभिड अस्पतालमा भेन्टिलेटर नै उपलब्ध हुन सकेन ।

ती युवाको बुधबार मृत्यु भएको थियो । तर, बिहिबार राती साढे ७ बजेमात्र प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले उनको मृत्युबारे सञ्चारकर्मीहरुलाई इमेलमार्फत औपचारिक जानकारी दिए । उनको जानकारीमा ती युवाको मृत्यु कोभिड १९ अस्पतालमा भएको उल्लेख छ । तर, प्रतिष्ठानका एक चिकित्सकका अनुसार ती युवाको मृत्यु इर्मजेन्सीमा भएको हो । उनको लागि धेरै प्रयास गर्दा पनि भेन्टिलेटर उपलब्ध हुन नसकेको ती चिकित्सक बताउँछन् । अन्ततः ती युवाको इर्मजेन्सीमा नै मृत्यु भएको थियो । ‘भेन्टिलेटर सबै चलेको छैन, सामानहरु बिग्रिएर थन्किएको छ । सबै ठिकढंगले चलेको भए उनले पाउने थिए, र त्यसरी ज्यानै नजान सक्थ्यो,’ती चिकित्सकले भने ।

समन्वय नगरि विरामी ल्याए आइसियु नपाउने

कोभिड अस्पतालको भेन्टिलेटरहरु बिग्रिएर समस्या थपिए पछि आज (बिहिबार) प्रतिष्ठानले एक सुचना जारी गर्दै समन्वय गरेर मात्र संक्रमित विरामी भर्नाको लागि ल्याउन आग्रह गरेको छ । प्रतिष्ठानले अधिकांश बेडमा लक्षणसहितका विरामीहरु भर्ना भइसकेकोले समन्वयकर्ता डा.इन्द्र लिम्बुलाई सम्पर्क गरेर मात्र विरामी भर्नामा ल्याउन भनेको छ । साथै, समन्वय नगरि आएका विरामीलाई आइसियु, भेन्टिलेटर तथा बेड उपलब्ध गराउने सुनिश्चित गर्न नसकिने पनि प्रतिष्ठानले प्रष्ट पारेको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले अन्यत्रबाट समन्वय नभई विरामी आइदिदा समस्या हुने गरेकोले सुचना जारी गरिएको बताए । गम्भीर प्रकृतिको विरामीलाई आइसियु, भेन्टिलेटर आवश्यक पर्ने भएकोले त्यसरी समन्वय नगरि आउदा समस्या हुने उनले बताए । ‘अन्य हस्पिटलबाट समन्वय नगरि आइदिदा समस्या हुन्छ । गम्भीर विरामीलाई आइसियु, भेन्टिलेटर अभाव हुन्छ । तर, अहिलेसम्म आवश्यकता अनुसार व्यवस्था भइरहेकै छ,’सहप्रवक्ता डा.श्रेष्ठले भने,‘त्यसैले कोअर्डिनेटर डाक्टरको नाम र नम्बरसहित सुचना जारी गरिएको हो ।’

bp-notice