सुनसरी: इटहरी उपमहानगरले खनार बजारमा गरिएको अनुगमनको क्रममा म्याद गुज्रिएका समाग्री बेच्न राखेको पाइएको छ ।

इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा अनुगमन गरिएको हो । खनार बजारको ८ वटा किराना पसलको अनुगमनको क्रममा एउटा पसलमा शिल गरिएको छ । चार वटा किराना पसलमा म्याद गुज्रिएका समान भेटिएको अनुगमन टोलीले जनाएको छ । अनुगमनको क्रममा पेडा, मिट मसला, खाने तेल, ध्यू, विस्कुट,वेसारको प्याकेट लगायत म्याद गुज्रिएको सामग्री भेटिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भटटराईले बताए । ती म्याद गुज्रिएका सामानहरु जफत गरिएको छ ।

गतसाल अनुगमनका क्रममा पनि म्याद गुज्रिएका समान वेचविखन गरेको पाइएको विक्रम किराना पसललाई सिल गरेको उपमेयर गौतमले बताइन् । मूल्यसूची तथा साइनवोर्ड नभएकालाई तीन दिन भित्र राख्न निर्देशन दिइएको छ । व्यवसाय नविकरण नगरेकाहरुलाई पाँच दिन भित्र गर्न समय दिइएको छ भने वजार अनुगमनलाई तिव्र बनाउने उपमेयर गौतमले बताइन् ।