धरान: चाडपर्वमा मठमन्दिरहरुमा हुने भिडभाडलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ ।

तीब्रदरमा कोरोना संक्रमणसँगै मृत्यु दर पनि बढेको र जोखिम अझै रहीरहेकोले चाडपर्व लक्षित निषेधाज्ञा जारी गर्नुपरेको प्रशासनको भनाई छ । निषेधाज्ञा कार्तिक १ गतेदेखि मंसिर ६ गतेसम्म कायम रहनेछ । चाडपर्व नजिकिएको र यो बेला मठमन्दिरहरुमा भिडभाड हुने भएकोले संक्रमण फैलने जोखिम उच्च रहेकोले निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बताए । उनले भने,‘मन्दिरमा नित्य पुजा गर्ने एक जना बाहेक अन्यलाई प्रवेशमा रोक लगाएका छौं । चाडपर्वमा हुने शुभकामना आदनप्रदान कार्यक्रम, उद्घाटन र सिलान्यस, राजनैतिक दलको कार्यक्रमहरुमा पनि रोक लगाएको हो ।’

प्रशासनले शक्तिपिठ, मन्दिर तथा पण्डालहरुमा एक व्यक्तिबाट गरिने नित्यपुजाबाहेक सामुहिकरुपमा गरिने पुजाआजामा रोक लगाएको छ । मस्जिदमा भेला तथा जम्मा हुन, गुम्बाहरुमा भेला हुन तथा पुजा गर्न, भक्ति संगित तथा भजनकिर्तनमा पनि रोक लगाएको प्रशासनले जनाएको छ । यस्तै, चाडपर्वमा हुने मेला जात्रा गर्न, राजनैतिक दलहरुबाट गरिने कार्यक्रमहरु सञ्चालन गर्न, शुभकामना आदनप्रदान गर्न, उद्घाटन र सिलान्यास गर्न पनि प्रशासनले रोक लगाएको जनाएको छ । साथै सामुहिकरुपमा भेला भएर गरिने कुनै पनि क्रियाकलापहरुमा पनि रोक लगाएको प्रशासनको भनाई छ ।

cdo-no