धरान: सुनसरी जिल्लास्थित कोभिड १९ क्राइसिस मेनेजमेन्ट सेन्टर(डिसिसिएमसि) बैठकले आइतबारदेखि सुनसरी जिल्ला भित्रिने लामो दुरीको यात्रुवाहक सवारीसाधनहरु बिहान ९ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै, सुनसरी जिल्लाबाट छुट्ने लामो दुरीका यात्रुवाहक सवारीसाधानहरु पनि बिहान ७ बजेभित्र गन्तव्यतर्फ प्रस्थान गरिसक्नुपर्ने निर्णय बैठकले गरेको छ । सोही बैठकले छोटो दुरीका बस, कार, जिप, म्याजिक, टेम्पो, माइक्रो, ई रिक्सा, मोटरसाइकललाई जोरविजोर प्रणालीमा मात्र सञ्चालन गर्ने पनि निर्णय गरेको छ । यसको व्यवस्थापन १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले गर्ने निर्णय पनि भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

यसैगरि, मुल सडक, बजार तथा बसपार्क क्षेत्रमा स्थानीय तहको अनुमतिमा सञ्चालन भएका बसपार्कमा कुनै पनि सवारी साधन पार्कि गर्न नपाईने पनि निर्णय बैठकले गरेको छ । फुटपाथ, गुद्री जस्ता स्थानमा हुने व्यापार व्यवसाय सञ्चालनमा स्थानीय तहको समन्वयमा पुर्णरुपमा रोक लगाउने पनि निर्णय भएको छ ।

होम आइसोलेसनमा रहेका संक्रमितहरुको स्वास्थ्य निगरानी, स्वास्थ्य परामर्श र विरामीको आवश्यकता अनुसार अस्पताल पुर्याउने काममा स्थानीय तहबाट स्वास्थ्यकर्मी परिचालन गर्ने तथा टोलटोलमा जनचेतनामुलक कार्यक्रम स्थानीय तहले तीब्रगतिमा गर्ने पनि निर्णय भएको छ । यस्तै, सुनसरीमा कोरोना संक्रमण उच्च दरमा फैलिरहेकोले इनरुवा अस्पतालबाट प्रदेशको कोभिड अस्पताल, विराटनगर र गोठगाउँमा काजमा खटिएका स्वास्थ्यकर्मीलाई काजफिर्त गर्न सामाजिक विकास मन्त्रालयमा अनुरोध गर्ने पनि निर्णय भएको छ ।

bus-cdo