नवदुर्गाको पाँचौँ रूप स्कन्दमाता हो। शारदीय नवरात्रको पाँचौँ दिन अर्थात् आश्विन शुक्ल पञ्चमीका दिन जगज्जननी स्कन्दमाताको उपासना गरिन्छ।

स्कन्द अर्थात् कार्तिकेयकी माता हुनाले यिनलाई स्कन्दमाता भनिएको हो। स्कन्दलाई कुमार, कार्तिकेय, षडानन आदि नामले पनि चिनिन्छ। यिनी देवताहरूका सेनापति हुन्। पौराणिक कथाअनुसार तारकासुरबाट पराजित देवताहरूले सात वर्षका स्कन्दलाई सेनापति बनाएर लडाईं गर्दा त्यस असुरमाथि विजय प्राप्त गरेका थिए। त्यसै बेलादेखि स्कन्द देवगणका सेनापति भएका हुन्।

स्कन्दमाता गोरो वर्णकी, तेजस्विनी, चतुर्भुजा देवी हुन्। यिनले दुई हातमा कमलपुष्प धारण गरेकी छन्। एक हात वरमुद्रामा रहेको छ। एक हातले स्कन्दलाई काखमा लिएकी छन्। यिनका काखमा बालक स्कन्द छन्। स्कन्दका हातमा शक्ति नामको आयुध र धनुर्बाण आदि हतियार पनि रहन्छन्। स्कन्दमाता कमलमा बस्छिन्। त्यसैले यिनलाई पद्मासना भनिन्छ। यिनको वाहन भने सिंह हो। स्कन्दमातालाई सूर्यमण्डलकी अधिष्ठात्री देवी मानिएको छ।

स्कन्दमाताको पूजा–आराधना गर्नाले भक्तका समस्त कामना पूरा हुन्छन् भनेर बताइएको छ। पारिवारिक सुख, सन्तति, समृद्धि, यश, पराक्रम, निर्भय र शत्रुनाश गर्ने स्कन्दमाताको उपासनाबाट भक्तले भोग र मोक्ष दुवै प्राप्त गर्छ। दाम्पत्यसुखका लागि स्कन्दमाताको आराधना विशेष महत्त्वपूर्ण मानिन्छ।

पूजाविधि

नवरात्रका अघिल्ला दिनहरूमा जस्तै पाँचौँ दिन स्कन्दमाताको पूजा हुन्छ। स्कन्दमाताको पूजा गर्दा स्कन्दको पनि पूजा गर्नुपर्छ। अरू मन्त्रका अतिरिक्त ॐ स्कन्दमात्रे नमः भनेर स्कन्दमाताको र ॐ स्कन्दाय नमः भनेर स्कन्दको पूजा गर्न सकिन्छ। स्कन्दमाताको पूजा गर्दा उनको वाहन सिंह, स्कन्दको वाहन मयूर र स्कन्दका हातमा रहेका शस्त्रअस्त्रहरूको पनि पूजा गर्नुपर्छ।

पाँचौँ दिनमा ६ वर्षकी कन्याको पूजा हुन्छ। यिनको नाम काली हुन्छ। यिनलाई ॐ काल्यै नमः, ॐ कुमार्यै नमः भनेर पूजा गर्न सकिन्छ। अन्य कर्म अरू दिनजस्तै गर्नुपर्छ।