धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कोभिड अस्पताल तथा आइसोलेसनमा कार्यरत स्टाफ नर्सहरुले आन्दोलन स्थगित गरेका छन् ।

कोभिड उपचारमा खटिए पश्चात विगतमा जस्तो नै क्वारेन्टिनमा राखेर खाना तथा खाजा उपलब्ध गराउने प्रतिवद्धता प्रतिष्ठान व्यवस्थापन पक्षबाट आएपछि उनीहरुले आन्दोलन रोकेर काममा फर्किएका हुन् । संघीय स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार प्रतिष्ठानले कोभिड अस्पताल, आइसोलेसनमा ड्युटी पश्चात क्वारेन्टिन नराख्ने, ड्युटी पश्चात आफ्नो घरमा नै बसेर त्यहीबाट नियमित ड्युटी गर्नुपर्ने निर्देशन दिएको थियो । भोली आइतबारदेखि लागु हुन लागेको यो निर्णयले कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको परिवारमा जोखिम बढेको भन्दै स्टाफ नर्सहरु आज आन्दोलित भएका थिए ।

उनीहरुले कोभिड र आइसोलेसनको ड्युटी छोडेर क्वारेन्टिन भएको दिल्ली पब्लिक स्कुलअघि झण्डै ३ घण्टा भर्ना बसेका थिए । पछि मेट्रोन गायत्री राईमार्फत प्रशासनले पुनः विगतमा जस्तै ड्युटी पश्चात ७ दिन क्वारेन्टिनमा राख्ने र पिसिआर गरेपछि मात्र घर पठाउने जानकारी गराएकोले आन्दोलन फिर्ता लिएको एक नर्सले बताइन् । ‘मेट्रोन आउनु भएर पहिला जस्तै व्यवस्था हुने भयो भन्नुभएकोले आन्दोलन फिर्ता भयो, तर ३ घण्टा जति हामी ड्युटी गएनौं । कोभिड अस्पताल पनि खाली भयो,’एक नर्सले भनिन् ।

covid-nurse

प्रतिष्ठानकी मेट्रोन गायत्री राईले पनि सरकारले नै क्वारेन्टिन सुविधाहरु काट्ने भनेको कारण अस्पताल प्रशासनले ४ गते सुचना गरेर सो निर्णयलाई कार्यान्वयन गर्ने जनाएको बताइन् । सोही अनुसार आइतबारदेखि कोभिडमा कार्यरतहरुलाई खाना नदिने, वीपीमा क्वारेन्टिनमा बसेपनि खाना घरबाटै वा आफैले व्यवस्थापन गर्नुपर्ने थियो । ‘आजसम्म खाना र क्वारेन्टिनमा बस्न दिने भन्ने थियो । सरकारले नै सुविधा नदिए पछि, धान्न गाह्रो भयो भनेको हो । तर, नर्सहरु मान्नु भएन । बिहानको सिफ्टको मात्र ड्युटी गए, बेलुकीको डिउटी केही समय गएनन्,’मेट्रोन राईले भनिन्,‘पछि भिसि सरसँग कुरा भयो, पहिला जे थियो, त्यही सुविधा निरन्तरता गर्ने भन्ने भएपछि डिउटीमा फर्किसके ।’ उनले कोभिड अस्पताल भवनको तल्लो तलामा बसेकाहरुले मात्र ड्युटी छोडेको दाबी गर्दै माथिल्लो तलाको मुख्य ड्युटी गर्नेहरुले भने नछोडेको बताइन् ।