धरान: आज वडा दशैंको नवमी । सरकारी मात्र होइन, निजी कार्यालयहरु पनि केही दिनलाई बन्द भइसकेका छन् ।

कोरोना भाइरसको महामारीले दशैंमा पहिला जस्तो रौनक छैन । तर, पनि कार्यालयहरु विदा भएकोले सबै आफ्नै घर परिवारमा छन् । अपवादमा स्वास्थ्यकर्मी अहिले पनि अस्पतालमा उपचारमा खटिएका छन् भने सुरक्षाकर्मीहरु दिनरात शान्ति सुरक्षाको लागि फिल्डमा खटिएका छन् । त्यति मात्र होइन, धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखालाई पनि दशैं विदामा फर्सुद छैन ।

उपमहानगरपालिकाका सबै कर्मचारीहरु दशैं विदामा छन्, तर स्वास्थ्य महशाखामा भने आज नवमीको दिन पनि बिहानदेखि केही कर्मचारी र स्वास्थ्यको टोली काममा नै ब्यस्त थियो । यो टोली भोली विजयादशमी अर्थात टिकाको दिन पनि यस्तरी नै ब्यस्त रहनेछ । यसको एक मात्र कारण हो, कोरोना महामारी । संक्रमण भएर होम आइसोलेसनमा बसेकाहरुको समस्या बुझ्ने, अवाश्यक परेमा वीपी प्रतिष्ठानका डाक्टरसँग समन्वय गरिदिनेदेखि शव व्यवस्थापनमा पिपिई सेट, शव वहान, जेसिबिलगायतको व्यवस्थापनमा पनि यो टोली खटिनु पर्छ । धरानमा दिनहुँ एक वा दुई जना संक्रमितको ज्यान गइरहेकै छ ।

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, वरिष्ठ कविराज निरीक्षक रामबाबु यादव, धरान मेडिकल स्टुडेण्ट टिमका सशांक ताम्राकार र साहिल निरौला दशैंमा पनि कोभिड व्यवस्थापनमा खटिएका छन् । यस्तै, अनमी चन्द्रकला राई र ल्याब टेक्निसियन लुना अधिकारी पनि चाडपर्व नभनी लागिपरेका छन् । सेनिटाइजर गर्न सफाईकर्मी निदेश मरिक र सुरेश मरिकले पनि दशैंको विदालाई थाती राखेका छन् । धरानका मेयर तिलक राईका स्वकिय सचिव राजेशमान श्रेष्ठले उनीहरुलाई अवाश्यक समन्य गर्न सहयोग गरिरहेका छन् ।

dharan-health, 1

स्वास्थ्य महशाखा प्रमुख मेहताका अनुसार दशैं विदामा पनि रुटिन बनाएर स्वास्थ्यको टोली धरानमा निरन्तर खटिएको छ । ‘कोरोनाको यस्तो महामारी छ, कतिबेला कस्लाई के हुन्छ, के आवश्यक पर्छ । त्यसैको लागि हाम्रो टिम रुटिन बनाएर खटिएका छौं,’मेहताले भने,‘शव व्यवस्थापन गर्न आवश्यक समन्वय, सामाग्रीहरु जुटाउनुपर्छ । होम आइसोलेसनमा बसेकाहरुलाई गाह्रो भए कहाँ पठाउने ? त्यसको लागि जनप्रतिनिधि, अस्पतालमा समन्यव गर्नुपर्छ । शव व्यवस्थापनलाई सेनासँग समन्वय गर्नुपर्छ ।’

हिजो मृत्यु भएकाहरुलाई आज शव व्यवस्थापन गर्न शवलाई पोको पार्ने ब्याग रेडक्रसबाट मागिएको मेहताले जानकारी दिए । होम आइसोलेसनमा बसेकाहरुलाई अक्सिजन आवश्यक पर्दा कहाँबाट मिलाउने भनेर पनि यो टिमले पहल गर्नेछ । शव उठाए पछि सेनिटाइज पनि गर्नुपर्ने हुन्छ । उपमहानगरपालिकाले यसअघि नै २१ जनाको टिम बनाएर होम आइसोलेसनमा बसेकाहरुलाई फोनमार्फत सम्पर्क गरेर अवस्था जानकारी लिन जिम्मेवारी दिइसकेको छ । सबैलाई वडा विभाजन गरेर होमआइसोलेसनमा बसेकाहरुको स्वास्थ्य अवस्था, खानपिनलगायत उक्त टोलीले समन्वय गर्नेछ । कसैलाई गाह्रो भएको पाए वीपी प्रतिष्ठानका विज्ञ डाक्टरहरुसँग समन्वय गराउने काम पनि गर्नेछ ।

dharan-healthy