धरान: धरानमा लकडाउन छ । स्वास्थ्य संस्था र औषधी पसलबाहेक उद्योग, व्यापार, सरकारी कार्यालयहरु पनि बन्द गरिएको छ । त्यसैले मानिस र सवारीसाधनहरु हिड्न, गुड्न निषेध छ ।

यही समयमा धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतालाई भने एक छिन फुर्सद छैन । यसको कारण हो, दिन प्रतिदिन धरानमा कोरोना संक्रमितहरुको संख्यासँगै समुदायमा संक्रमणको जोखिम पनि बढ्दै जानु । नयाँ संक्रमित देखिए पछि ट्राभल हिष्ट्री लिने, कन्ट्याक्ट ट्रसिङ गर्ने काम सकिएको हुदैन, समाचारको लागि मिडियाकर्मीहरुको तारन्तार फोन आउन थाल्छ । संक्रमितहरुलाई घरबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने र कन्ट्याक ट्रेसिङ भएकाहरुको स्वाब संकलन गर्ने नियमित कार्य छदैछ । त्यसको व्यवस्थापनमा पनि उनी निक्कै दौडधुप गर्नुपर्छ ।

preeti-swab2

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता ।

समुदायमा संक्रमण फैलिएको आशंकामा साउन २० गतेदेखि समुदायस्तरमा पिसिआर जाँच गर्ने क्रम जारी छ । धरानको सबै वडा, उच्च जोखिम क्षेत्रको ५ सय जनाको स्वाब परीक्षण गर्ने लक्ष्य लिइएको थियो । तर, संक्रमित संख्या बढ्दै गएको र कन्ट्याक ट्रेसिङबाट संख्या पनि थपिदै गएको छ । आजसम्म ६६० जना पुगिसकेको छ । त्यसैले स्वास्थ्यको टोली दिउँसो मात्र होइन, राती पनि स्वाब संकलनमा खटिएका छन् । स्वास्थ्यको टोलीलाई स्वाब संकलनको लागि केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारको माइक्रोवायोलोजी विभागका माइक्रोवायोलोजिष्टहरुले साथ दिएका छन् । धरान मेडिकल स्टुडेन्ट्स टिमले पनि सहयोग गरिरहेको छ । 

दिनरात खटिएको यो टोलीलाई धरानका जनप्रतिनिधिहरुले प्रशंसा गरिरहेका छन् । ‘दिनरात नभनी धराने जनताको कोरोना परीक्षण गर्न खट्न हुने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका कर्मचारी मित्र लगायत आफुलाई जोखिममा राखेर पनि स्वाब लिन पुर्ण सहयोग गर्नुहुने भाईबहिनीहरुलाई धेरै धेरै धन्यवाद नदिइरहन सकिएन,’वडा नं १२ का सदस्य ब्रह्मज्ञ भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । स्वाब संकलनमा हात्तिसारबाट माइक्रोबायोलोजिष्ट आशिष प्रधान, मोजेस चौधरी र आकृति गुरुङ खटिएका छन् ।

प्रिति भल्भमा ४२, एन्फामा १९१ जनाको स्वाब संकलन

anfa-swab

एन्फा क्वारेन्टाइनमा बिहिबार दिउँसो स्वाब दिन लामवद्ध नगरबासीहरु । तस्बिर स्रोत: सुमित कार्की

धरानमा बिहिबार २३३ जनाको स्वाब संकलन गरिएको छ । ती मध्ये ४२ जना धरानको कोरोना हटस्पट रहेको धरान ८ तीनकुनेमा रहेको औद्योगिक क्षेत्रको प्रिति भल्वका कर्मचारीहरुको लिइएको छ । दिनभर धरान १७ स्थित एन्फा क्वारेन्टाइनमा स्वाब संकलन गरेको टोलीले राती करिब ८ बजेसम्म प्रिति भल्भमा पनि स्वाब संकलन गरेको थियो ।

स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार एन्फामा १९१ जनाको स्वाब लिइएको छ । ती मध्ये २९ जना एन्फा क्वारेन्टाइनमा हुन् भने २६ जना होटल क्वारेन्टाइनमा रहेका हुन् । बाँकी सबै कन्ट्याक ट्रेसिङ तथा समुदायस्तरमा कोरोना संक्रमण परीक्षणको क्रममा तथ्यांक लिइएको वडाहरुबाट आएकाहरुको हो ।

preeti-swab1

प्रिति भल्भमा बिहिबार राती पनि स्वाब संकलन गरिदै ।