विराटनगर: अवैध हुण्डी कारोबारको नगद र तस्करीको सुनको गरगहनासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीको टोलीले भारतीय नागरिक २५ बर्षीय दीपककुमार भगतलाई अवैध हुण्डीको नगद ६ लाख ६२ हजार ६ सय ५० रुैिया र साढे २४ तोला सुनको गरगहनासहित पक्राउ गरेको हो । । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बिओपी) रानीका प्रमुख प्रहरी निरीक्षक मौषम पोखरेलको कमाण्डमा खटिउको टोलीले भगतलाई पक्राउ गरेको हो । भगतको साथबाट ३७ थान लकेट, ब्रास्लेट ४ थान, झुम्का १० थान र २ थान चुरा वरामद गरेको छ ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एवं एसपी तीर्थ पौडेलका अनुसार भगतले भित्रि वस्त्र(अण्डरवेयर)भित्र सुनको गरगहना लुकाएर ल्याएका थिए भने जुत्ता भित्र लगाएको मोजामा टेपले बाधेर नगद राखेको अवस्थामा भेटिएको थियो । भगत तस्कर समुहको भरिया मात्र भएको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका भगतलाई वरामद भएको नगद र गरगहनासहित थप अनुसन्धान तथा कारबाहीको लागि सशस्त्रले भन्सार कार्यालयमा पठाएको छ ।